काठमाडौं । आईजीपी धीरजप्रताप सिंहको तर्फबाट बहस गरेका एकजना कानुन व्यवसायीले न्यायाधीशविरुद्ध फेसबुकमा अपमानजनक स्टाटस लेखेका छन् । सामाजिक संजाल मार्फत् वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले आईजीपी नियुक्तविरुद्धको मुद्दा हेरिरहेका न्यायाधीशहरुलाई हड्ताली र मठाधीशको संज्ञा दिएका छन् ।
हेर्दाहेर्दैमा रहेको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनवाइ भोलि २६ गते तोकिएको थियो । उक्त दिन सार्वजनिक विदा परेपछि २६ गते तोकिएको पेसी के हुने भन्ने अन्योल थियो । तर, सिनियर एआईजी विश्वराज पोखरेलका कानुन व्यवसायीहरुले प्रकृया पूरा गरेपछि सर्वोच्च अदालतले उक्त पेसी २७ गतेलाई तोकेर अन्योल हटाइदियो ।
कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासले मुद्दाको सुनवाई गरिरहेको छ । गत २३ गते वहस नोटसमेत इजलासमा पेस भइसकेको छ भने भोलि आइतबार दुवैतर्फको सवालजवाफपछि फैसला आउने अनुमान गरिएको थियो । आइतबार सार्वजनिक विदा परेकाले सर्वोच्च अदालतले सोमबारलाई पेसी तोकेको हो ।
सर्वोच्च अदालतले २७ गतेलाई पेसी तोकेपछि आईजीपी धीरजप्रताप सिंह पक्षका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले मुद्दा हेरिरहेका न्यायाधीशहरुविरुद्ध सामाजिक सञ्जालमा यसरी अपमानजनक शब्द प्रयोग गरेर स्टाटस लेखेका हुन् ।
सुशीलकुमार पन्तको फेसबुक स्टाटस—
न्यायपालिकाको सर्वोच्च अंगमा एउटा मुद्दा २६ गते पेसी थियो, सो दिन बिदा प¥यो के हुन्छ भन्ने पक्षको जिज्ञासालाई अब २७ गते उपस्थित हुने अर्को मिति पाइन्छ भन्ने सल्लाह दिएँ । आफूले जानेको त्यही थियो ।
अकस्मात पक्षको खबर आयो होइन, अदालतबाट त आजै २४ गते बोलावट आयो २७ गतेको लागि सही गर्न भनेर के गर्ने । म नाजवाफ भएँ यस प्रकार सर्वोच्च प्रशासनले निडर भएर कानुन तोडेको २०३५ सालदेखि व्यवसायमा छु थाहा थिएन । बाँच्नु पर्दछ के के देखिन्छ ।
मलाई विश्वास छ यसमा कसैलाई कुनै कारबाही सोधखोज हुँदैन । कसैले मेरो विश्वासमा फरक पार्दछ कि ।
जय हडताली । जय मठाधीश
वरिष्ठ अधिवक्ता पन्तको यो सार्वजनिक अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । आफ्नो पक्षमा फैसला नआउने देखियो भने न्यायाधीशविरुद्ध नै अपशब्द प्रयोग गर्नु उचित नहुने भन्दै अमेरिकाबाट राधाकृष्ण देउजाले वरिष्ठ अधिवक्ता पन्तलाई सामाजिक सञ्जालमार्फत् नै गतिलो जवाफ फर्काएका छन् ।
राधाकृष्ण देउजाको फेसबुक स्टाटस—
न्यायाधीशको रुपमा न्यायलयमा आसिनहरुलाइ न्यायमूर्ति भनिन्छ । त्यसो किन ? भन्दा उनीहरु सबै कुरालाइ बिर्सिएर केवल न्याय र अन्याय छुट्याउने गर्छन् । शक्ती सत्ताको दवाव र लोभ लालचको प्रभावमा नपरिकन न्याय निरुपण गर्ने न्यायमूर्तिहरुकै कारणले हो न्यायका व्यापार गर्ने हेतु न्याय सेवामा छिरेर न्यायलयलाई बदनाम बनाउने केहि न्यायधीश भनिने दलाल र कानुन व्यवसायी भनिने विचौलियाहरुको खेलोमेलोमा भएका कतिपय विवादित फैसलाका वावजुद पनि न्यायलय प्रतिको आशा र विश्वास वर्करार रहेको छ । तर त्यसो गरिरहन सच्चा न्यायमुर्तिहरुलाइ सजिलो चाहिं पक्का छैन, किन भने आफुले भने जस्तो नहुने हो कि भन्ने वित्तिकै न्याय क्षेत्रले मात्रै हैन आम समाजले समेत सम्मानकै दृष्टिले हेरेका मानिसहरु समेत अदालत र न्यायमूर्तिहरुलाई आरोप लगाउने, अदालतलाई विवादमा तान्ने काममा जुटी हाल्नु हुन्छ । आज मात्रै एकजना सम्मानित वरिष्ठ अधिवक्ताले आफु समेतले वकालत गरेको प्रहरी महानिरीक्षक वढुवा सम्वन्धि (एउटा संवेदनशील) मुद्दाको अन्तिम पेशी अचानक घोषित विदाको दिन पर्न गएकोले त्यसको सुनुवाई अदालत खुल्ने वित्तिकै गर्ने जायज निर्णयको विरुद्ध सामाजिक संजालमा भंडास पोख्नु भएछ । अदालतमा मुद्दाको विपक्षमा आफुले जाने जति सके जति वहस गरिसकेको अवस्थामा त्यसको शिघ्र फैसला आओस् भन्ने, अनि आफ्नो मत अनुसार फैसला आउनु पर्छ वा आउँछ भन्ने सम्म त ठिकै हुन्थ्यो तर पेशी तोकिएको दिन विदा पर्न गएकोले त्यसको पेशी लगत्तै अर्को दिन तोक्ने काम हुने बित्तिकै न्यायमूर्तिहरुलाइ मठाधीश देखि हडताली सम्मको संज्ञा दिने कुराले स्वयम् वरिष्ठ अधिवक्ताज्यु प्रतिको सम्मानमा आँच आउने वाहेक अरु केहि हुने छैन । वहाँ जत्तिको वरिष्ठ अधिवक्ताले मुद्दाको पेशी छिटो हुने र न्याय निरुपण छिटो हुने कुरामा आपत्ति गरेर न्यायमुर्तिलाइ विशेषण भिराउने काम गरेर आफ्नै कद घटाउँदै गर्दा पनि जनताले बुझेको सत्य के हो भने श्रीमान दिपक कार्की नेतृत्वको अहिलेको अदालत गलत हुँदा आफ्नै नेतृत्वकर्ताको खिलाफमा उभिएर पनि न्यायलयको गरिमा जोगाउनेहरुको वहुमत भएको अदालत हो । त्यसैले यो सम्मानित अदालत हो । न्याय निरुपणमा निस्पक्ष र प्राथमिकता निर्धारणमा निर्पुण न्यायमुर्तिहरुको टिमलाइ नै धन्यवाद छ ।
फैसला जेजस्तो आए पनि आईजीपी बढुवाजस्तो संवेदनशील राष्ट्रिय मुद्दामा समयमै न्याय निरुपण होस् भन्ने चाहना वरिष्ठ वकिलहरुले राख्नुपथ्र्यो । तर वरिष्ठ अधिवक्ता पन्तमा न्याय दिनुपर्छ भन्ने सिद्धान्त भेटिएन, बरु न्यायमूर्तिलाई सार्वजनिक रुपमा अपमानजनक स्टाटस लेखेर मुद्दा प्रभावित पार्ने भूमिका देखियो । वरिष्ठ अधिवक्ताले खेल्नुपर्ने भूमिका यस्तै हो त ? भनेर सर्वत्र आलोचना सुरु भएको छ ।
यो मुद्दाको फैसला तत्काल आएन भने साउन १९ गते एआईजी पोखरेल अनिवार्य अवकासमा जाँदैछन् । त्यत्तिबेलासम्म यो मुद्दा लम्ब्याएर औचित्य समाप्त पार्न खोज्ने कानुन व्यवसायीले न्यायमूर्तिविरुद्ध अपशब्द बोल्दैमा, लेख्दैमा अदालत प्रभावित हुन्छ भन्ने होइन । मुद्दा लम्बाउन अनेकौं हत्कण्डा गर्दा पनि केही सीप नलागेपछि तल्लोस्तरको गालिगलौजमा उत्रिएको प्रस्टै देखिन्छ ।
अदालतमा भएका विकृति विसंगतिको निरुपण गर्न न्यायधीश, अदालत प्रशासन मात्र होइन वकिलहरुको पनि महत्वपूर्ण भुमिका हुन्छ । न्यायलयको इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न अदालतका विकृति र विसंगतिविरुद्ध लडिरहेका सम्मानित कायमुकायम प्रधानन्यायधीश दिपककुमार कार्कीलाई सहयोग गर्नुपर्ने वरिष्ठ अधिवक्ताहरु उल्टै गालीगलौजमा उत्रिनुले अदालतप्रति उनिहरुको सोच कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ ।
न्यायलयको पनि कमिमजोरीहरु होलान् । त्यसलाई सुधार गर्दै जाने न्यायधीशहरुले प्रण गरेका हुन्छन् । त्यसमा पनि कामु प्रधानन्यायधीश दिपककुमार कार्कीले अदालतको गरिमा कायम राख्न गरेको प्रयत्नको सर्वत्र प्रशंसा भइरहेको छ ।
आईजीपी नियुक्तिविरुद्धको अत्यन्त जरुरीको यो मुद्दा समयमै फैसला गर्न कामु प्रधानन्यायधीश नेतृत्वको इजलासले अग्रसरता लिएपछि मुद्दा लम्बाएर औचित्य समाप्त पार्ने, न्यायधीश, अदालतलाई नै बदनाम गराउने चेष्टा राखेका वरिष्ठ अधिवक्ताहरुले आफ्नै कार्यथलोलाई अपमानित गर्ने अभिव्यक्ति दिएर आम मानिसको भरोसाको अन्तिम थलो अदालतलाई लज्जित बनाउने दुष्कर्म गरिरहेका छन् ।
प्रतिक्रिया