ओखलढुंगा । पूर्वाधार विकासमा सधैं पछिपरेको ओखलढुङ्गा जिल्लाले यो वर्ष विकास निर्माण कार्यमा सन्तोषजनक प्रगति गरेको छ । पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका अनुसार यो वर्ष ५४ करोड १९ लाख रुपैयाँ बजेट विनियोजित भएको थियो । त्यसमध्ये ५३ करोड २९ लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च कुल विनियोजित बजेटको ९८ दशमलब ३३ प्रतिशत हो ।
यस बर्ष १ नम्बर प्रदेश सरकारअन्तर्गतका १६ वटा विकासे कार्यालयले ९४ दशमलब ३० प्रतिशत खर्च गरेका छन् । अन्य प्रदेशको तुलनामा यसलाई सन्तोषजनक प्रगति मानिएको छ ।
पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाका डिभिजन इञ्जिनियर गंगासागर यादवको नेतृत्वमा १२ बर्षदेखि अलपत्र रहेको मोलुङ्ग खोलाको मान्द्रे दोभान पुल यसै बर्ष सम्पन्न भयो । उक्त पुल राजेन्द्र/लोकप्रिय–जेभीले ठेक्का लिएको थियो । ६ बर्षदेखि अलपत्र मोलुङ्ग दोभान पुलसमेत सम्पन्न भएको छ उक्त पुल वाईवा/केउरिनी–जेभीले ठेक्का लिएको हो ।
ओखलढुङ्गा र रामेछाप जिल्ला जोडने लिखु खोला पुलको ९५ प्रतिशत कार्य सम्पन्न भएको छ पुष्पाञ्जली/सिंहदेवी–जेभीले निर्माण गरेको यो पुल समयमै सम्पन्न हुने देखिन्छ भने ढुडें खोला पुल सम्पन्न भइ सञ्चालनमा रहेको छ । उक्त पुल सिर्जना /अंशुमान–जेभीले निर्माण गरेको हो ।
त्यस्तै सिद्धिचरण नगरपालिका र चिसंखुगढी जोडने खार्ते खोला पुलको दुवै पट्टाको पिलरलगायतको कार्य निर्धारित समयभन्दा ६ महिना अगाडि सम्पन्न भई स्वीस सरकारको अनुदानमा राखिने स्टिल डेक स्ल्याब राख्न बाँकी छ । सिद्धिचरण नगरपालिकभित्रको पोक्टिम खोला पुल निर्माण चरणमा रहेको छ ।
सोलु जिल्लामा नेचा र थुलुङ्ग दुधकोशी जोडने सोलु खोला चुर्पुघाट पुलको ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । उक्त पुल रायमाझी/जगदम्बा–जेभीले निर्माण गरेको हो । खहरे खोला पुल तथा सिकु पिकु पुल निर्माण चरणमा रहेको छ । प्रदेश सरकार, पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाबाट पुल निर्माणमा यो बर्ष १८ करोड ५७ लाख खर्च भएको छ ।
पूर्वाधार विकास कार्यालयअन्तरगत ८ ओटा झुलुङ्गे पुलको निर्माण भएको छ । दुधखोला झुलुङ्गे पुल थुलुङ्ग दुधकोशी गाउँपालिका, रुम्जाटार ठोटने खोला झुलुङ्गे पुल, अर्खेली तीनघरे बर्नालु ठुलढुङ्गा झुलुङ्गे पुल, जलजला मोलुङ्ग खोला झुलुङ्गे पुल, बास्तवा खोला झुलुङ्गे पुल, बेझो खोला झुलुङ्गे पुल, आङ्गपाङ्ग खोला झुलुङ्गे पुल एवम् खानी खोला झुलुङ्गे पुल ।
त्यसैगरी सडक निर्माणतर्फ निर्वाचन क्षेत्र १ को रिङ्गरोड अन्र्तगतको ६ प्याकेज मध्ये ५ प्यकोज रनिङ्गमा छन् भने एक प्याकेज माहालक्ष्मी निर्माण सेवा प्रालिले समय अगावै सम्पन्न गरी सडक सञ्चालनमा आएको एक बर्ष भइसकेको छ ।
निर्वाचन क्षेत्र १ अन्तरगत रिङ्ग सडकमध्येका
– निशंखे-भदौरे-रवुंवाघाट-खानीभन्ज्याङ्ग सडक
– पात्ले-चर्माडिङ्ग-घट्टे खोला-लाप्चे सडक
– ठाडे-जन्तरखानी-नलिडाँडा-पत्ताले टुकसिन्डु-भुसिङ्गगा रावादोलु सडकको दुई प्याकेज
– गोरुमारे भन्ज्याङ्ग-अधेरी नारायणस्थान निशंखे सडकको निर्माण कार्य संचालनमा रहेको छ ।
यसै बर्ष सडक पूर्वाधारमा ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ्ग, माधवपुर, ठाडे खोला, सिस्नेरी, वल्खु खाङ्गसाङ्ग सडकको ३१ करोड ३२ लाखमा ठेक्का लागि निर्माण कार्य सुरु भएको छ ।
त्यसैगरी सोलुखुम्बु जिल्लाको नेले, तुम्से, काँगेलटार, वाचिङ्ग, जुभो, खन्याखर्क र ऐंसेलुखर्क सडकको २६ करोड ६९ लाखमा ठेक्का लागेको छ भने तामाखानी, जसमाने भन्ज्याङ्ग, गुम्बा गोलु, लिखु पिके र काफ्ले चौर सडकको २१ करोड २३ लाखमा ठेक्का लागेको छ ।
प्रतिक्रिया