विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो

विद्युत प्राधिकरणको नाफा घट्यो, चुहावट बढ्यो


ग्लोब नेपाल
216
Shares

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले नेपाल विद्युत प्राधिकरणको नाफा घट्नुका साथै चुहावट बढेको देखाएको छ । प्राधिकरणले आफ्नो नाफा बढेको र चुहावट घटेको दावी गर्दै आएको बेला महालेखाको प्रतिवेदनले विवरण नकारात्मक देखाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा विद्युत चुहावट १ दशमलव १९ प्रतिशतले बढेर १७ दशमलव १८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १५ दशमलव ९९ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७७/७८ मा १३ दशमलव ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो ।

महालेखाले चुहावट वृद्धि भएको हुँदा यसको कारण पत्ता लगाई तेस्रो पक्षबाट स्वतन्त्र मूल्यांकन गराउनुपर्ने औंल्याइए पनि समस्या यथावत रहेको बताएको छ । प्राधिकरणको नाफामा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७६/७७ मा १० अर्ब ५ करोड २ लाख रुपैयाँ नाफा देखाएको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ सात अर्ब ६८ करोडमा खुम्चिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ३५ अर्ब १२ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ४० अर्ब ८५ करोड रुपैयाँको बिजुली किनेको छ । प्राधिकरणले विद्युत उत्पादन बढेको दावी गर्दै आए पनि महालेखाले आन्तरिक उत्पादनमा कमी तथा आयातमा वृद्धि हुँदा समष्टिगत खरिद वृद्धि भएको औंल्याएको छ ।

साथै, प्राधिकरणले असुलउपर गर्नुपर्ने बक्यौता पनि बढेर गएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस्तो बक्यौता १३ दशमलव १७ प्रतिशत बढेर ३६ अर्ब ४३ करोड पुगेको छ । यसमा डेडिकेटेड तथा ट्रंक लाइनका ग्राहकबाट लिन बाँकी रकम १७ अर्ब १५ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक सडक बत्तिको चार अर्ब ३२ करोड रुपैयाँ प्राधिकरणले उठाउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।