काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।
यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन्।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।


प्रतिक्रिया