बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छः प्रचण्ड

बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छः प्रचण्ड


ग्लोब नेपाल
675
Shares

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।

सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका दलहरुसँग वार्ता भइरहेकाले मोर्चाबन्दी हुन सक्ने बताएका हुन्।

‘‘पाँच दलीय गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै नेताहरुसँग कुराकानी भइरहेको छ, त्यसमा माधवजी, उपेन्द्रजी, बाबुरामजी हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी पनि मिसिनुभएको छ, गठबन्धन भित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनिरहेको छ, प्रचण्डले जनकपुर बिमानस्थलमा भने, ‘ सकियो भने चुनावका लागि विशेष मोर्चा निमार्ण पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समितिको नामवाट मोर्चाबन्दी पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’

गठबन्धन भित्र र बाहिरका बामपन्थी दलहरु बिचमा छलफल चलिरहे पनि अहिले नै निष्कर्षमा नपुगेको प्रचण्डको भनाइ छ।

यस्तै, प्रचण्डले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिए । ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ ।