असार वर्षा

असार वर्षा



ऊ असार पुत्री, म असार पुत्र । हाम्रो सम्बन्धको युगिन मिथक छ । हाम्रो जन्मकथाको आफ्नै विशेषता र विस्तृति अनेक छन् । असारको जीवनचक्र हुन्छ । हाम्रो पनि छ । असारको विछोड मंसिरमा हुन्छ । प्रत्येक मंसिरको जन्म असारमा हुन्छ । असार र वर्षाको जन्म असारमा भयो र प्रेमको पहिलो अङ्कुरण असारकै पूर्वसन्ध्यामा भयो ।

०००

आज उसको मेसेज आएन । जसरी नियमित आउने गर्छ । उसको मेसेज पढेर दिनको शुरुवात गर्ने बानी परिसकेको थियो । उसको शुभरात्री चुम्बन ओढेर निदाउन अभ्यस्त भइसकेको थिएँ । उषाले लाली छर्नुपूर्व, रात नव्यूँझँदै उसको प्रेम सन्देश पढ्न आतुर मेरा आँखा अर्धमुदित खुल्थे र लामो चुम्बनको फैलावटसँगै तन्किन्थे, झङ्कृत हुँदै खुल्थे । साथीहरूलाई भन्थेँ – उसको र मेरो प्रेमको रूटिन छ ।
रूटिन ? अहँ,उसको मेसेज हेर्न नै आँखा खोल्ने ।

०००

धर्ती र आकाशको प्रेमालाप चलिरहेको छ । आकाशले पानी वर्षाएर धर्तीलाई गर्भवती बनाइदियो । र, धर्तीले मगमगाएर आकाशको गर्भादान स्वीकार गरेको छ ।

०००

म उसलाई सम्झिरहेको छु । ऊसितका पल क्षण सम्झिरहेको छु । जसरी एक्लिएको रात दिनसितको प्रेमालाप सम्झेर जागा बस्छ । ऊसितका दिन, साता, महिना र वर्ष सम्झिरहेको छु । जसरी प्रेमाघातको घाउ कोट्याउँदै आफ्ना गल्तीमाथि पश्चातापको नूनचुक दल्दै प्रेमी अतीत पल्टाएर टोलाउँछ एकान्तमा । पूरापूर नौ वर्षको प्रेम सम्बन्धमा १०० पूर्णाङ्कमा ९९ (४ जिपिए अङ्क) ल्याएर ए प्लसमा उत्तीर्ण हुनुपर्ने तर, १ अङ्कको कमी वा एक कमजोरीका कारण गलहत्याइएको छु । म मलाई अनुत्तीर्ण सावित गर्ने उसलाई सम्झिरहेको छु । जस्तो महादेव । पत्नी वियोगले एकान्तवासमा छ । दक्ष प्रजापतिको यज्ञमा होमिएर प्राण त्यागेकी सतीलाई काँधमा बोकेर ब्रम्हाण्ड भौँतारिरहेको छ । वियोग गरिरहेको छ ।

०००

कोठाभरि किताब छन् । दुई आने घरको छिँडी । घाम नछिर्ने कोठा । कोठामा अधिकाँश स्वदेशी लेखकका कविता, कथा, निबन्ध, उपन्यास एकअर्कालाई पढिरहेका । पूर्वपट्टिको भित्ताका बूकर्‍याकमा देशबाट प्रकाशित हुने प्रमुख ब्रडशिटका शनिवारिय परिशिष्टाङ्क । छुट्टाछुट्टै खण्डमा । उत्तरबाट दक्षिण हेरिरहेको र्‍याकमा ‘मेरा लेख रचना’ को ट्याग छ । त्यहाँ देशका प्रमुख साहित्यिक, दैनिक र विशेषाङ्क जतनले सजाइएका छन् ।

हो, त्यही कोठामा म छु । बसिरहेको छु । एउटा पुरानो मोडेलको कुर्सी छ । त्यस कुर्सीको दक्षिण र पश्चिमको भित्तामा केही ५० थान जूट र चामलका बोराभित्र कोचेर राखिएका किताब चाङ पारेर राखिएका छन् । हेर्दा ती बोरा एकअर्कासँग मिलेर बसेका जस्ता देखिन्छन् । तर, ती वर्षौँदेखि थिचिएर, मिच्चिएर, हकअधिकार र मौलिक सुविधाबाट वञ्चित किनाराका आम नेपालीजस्तै हुन् । जसले एकार्काको बोझ वा भार सहेर बसेका छन् । जसले अरूलाई थिचेर बसेको हुन्छ । उनीहरूको बुझाइमा थिच्चिएर बस्नु र सहनुको अर्थ मिलेर बस्नु रहेछ । धन्न बोराहरूले आन्दोलन गर्दैनन् । नत्र, मलाई किन लाग्यो कि ती मिलेर बसेका छन् ।

अँ, म त्यही माहोलमा छु । सायद शून्यता, या मौनता या वा चकमन्न एकान्त । तिनैका माझमा सम्झेर बसेको छु । मैले सम्झिरहेकै क्षण आकाशबाट पानी बर्सियो । मेरो घरको टिनमा पानीका बूँदले चर्को आवाज निकालेर जिस्कायो मलाई । मलाई होईन, सायद मेरो गरिबीलाई ।

म मोहभङ्ग भएर वा विशृङ्खल शृङ्खलाबाट शृङ्खलाबद्ध भएर लयमा फर्केको छु । किन ? पछि कुनै दिन सुनाउँला त्यसको कथा । अहिले मलाई बेफुर्सद हुन नै आनन्द हो भन्ने भ्रमित हुनमा रमाईलो लागिरहेको छ । सायद दिग्भ्रमित । यही मोहको माहोलबीचबाट म उसलाई सम्झिन मनपराइरहेछु ।

०००

मलाई पानी पर्दा उसलाई सम्झिन निकै मनपर्छ । प्रत्येक ऋतुमा पर्ने प्रथम वर्षाजस्तै प्रत्येक वर्षाको प्रथम ब्रेकिङ न्युज उसैको मेसेजबाट पाउँछु । लेख्छे– ज्यान! हेरिस्यो त, कस्तो मज्जाले पानी परिरहेको छ ! वाउ
यो मौसम कति प्यारो … ! हाम्रै मिलनका लागि पानी बर्साउँछ …. !

उसलाई मेरै कविताले छुन्छ । र, ऊ मलाई मेरै कविताले हिर्काउँछे । जसरी आमाले आफ्ना छोराछोरीलाई मीठो, न्यानो म्वाइले हिर्काउनु हुन्छ । उसलाई मेरै गीतले छुन्छ । जसरी सानो अबोध नानीले आफ्नो कलिलो औँलाले बाबाको औँला समाउँदा बाबाको कर्तव्यलाई छुन्छ । गौरवलाई छुन्छ । जिम्मेवारीलाई छुन्छ । मुटुलाई समाउँछ ! उसलाई म देशको प्रख्यात कवि भएको हेर्न मन छ । ऊ मलाई संसारकै चर्चित उपन्यासकार भएको हेर्नु छ भन्छे ।

उसलाई नाच्न मनपर्छ । तर, नाच्न जान्दिन भन्छे । हुन पनि ऊ नाचेको आजसम्म देखेको छैन । तर, उसलाई मेरो हाँसोको सङ्गीतमा नाच्न मनपर्छ । भन्छिन् – हजुरको मुस्कानमा जादू छ ज्यान ! हातखुट्टा नाच्दैनन् तर, मन नाच्छ । मेरो मुस्कानको तालमा कम्मर भाँच्न मनपर्छ रे । मैले छुँदा लाग्ने करेन्टको धूनमा बेताल झुम्न मनपर्छ उसलाई । र, भन्छिन् – ज्यान किन मनपर्छ हजुरले मेरो ओठलाई काउकुती लगाएको ? किन मोहित हुन्छु जब मेरो अङ्गालोमा हजुर आफ्नो ढुकढुकीको चर्या नृत्य मिसाउनुहुन्छ !? मेरो बदमास मुटु, यो जादू हो, या इन्द्रजाल या भ्रम ?

बोहोसीमै बर्बराउँछे ऊ – जेसुकै होस् ज्यान, हजुरले भन्नुभएजस्तै प्रेमको भ्रमबाट मुक्त हुन नदिस्यो है मलाई ? मलाई अतृप्त नै रहन दिस्योस् । मलाई प्रेमको मुक्ति अवाच्छित लाग्न दिस्योस् ।

ऊ प्रत्येक पटकको वर्षातमा मैले लेखेको कविता फेसबूकको वालमा स्टाटस बनाएर हाल्न हतार गर्छे ।
म प्रत्येक ऋतुको प्रथम वर्षापछि धरतीको छातीबाट उठ्ने मुःस्वांजस्तै मगमग सुवासले मोहित भएर
अलाप्ने गर्छु राग – वसन्त वा …… खासे…. खासे….खासे …. ! – (हिउँदको वर्षा दथ मेरो ज्यान)

०००

आज विहान सबेरै आँखा खुल्यो । धेरै दिनपछि म निदाउन सकेको थिएँ । अबेरसम्म आँखा खुल्ला हुनु रातको नियमित नियमजस्तै बनेको छ । अनि निदाइहाले पनि विहानको प्रथम प्रहर अगावै ब्यूँझनु कुनै अभागीको नियतीजस्तै भैसकेको छ । ब्यूँझनु अनि ननिदाउनु ? यो मेरो जीवनको झेल हो कि अरू कुनै सङ्केत हो बुझ्न नसकेर कैयौँ स्वप्नील रात खेर गइसकेका छन् । जसरी एक युवाको शक्ति र सौर्य हस्तमैथुनद्वारा खेर गैरहेको हुन्छ ।

कतै बाहिरबाट गीत बजिरहेको छ । र, गाइरहेकी छन् सङ्गीता माङ्खा राई–
म त ठूलै पीडा हुँदा नि हाँस्न सक्ने मान्छे
आफ्नाहरू बिदा हुँदा नि बाँच्न सक्ने मान्छे

०००

म : गूड मर्निङ ज्यान ! (आँखा खुल्नेबित्तिकै उसलाई मेसेज गर्छु)
ऊ : गूड मर्निङ ! करिब पाँच मिनेटपछिको उसको जवाफ आउँछ ।
म : उठ्यौ ?
ऊ : उम्म् ! लामो….आङ तान्दै सायद । उसको बानीसित परिचित छु भलिभाँती ।
म : ज्यान, केयर गर है ? (उसले हिजो फेरि ज्यान सम्बोधन नगर्न चेतावनी दिएकी थिइ । तर, म बुझ्छु उसलाई । सायद उसकी आमाले भन्दा बढी । होइन आमाभन्दा पछि ।
ऊ : हस ! हजुरले पनि आफ्नो केयर गरिस्यो ! (उसले मेसेज फर्काइ)
म : पानीमा नरुझ है ज्यान !?
ऊ : रुझ्छु ! हजुरलाई किन चाहियो । मलाई जे मनपर्छ त्यही गर्छु । (पहिलो पटक उसले यस्तो मेसेज गरी ! किन ?)
म : तिमीलाई मेरो याद आयो भने ? (उसको मेसेज आएन । लामो समय पर्खेँ । तैपनि अफलाइन मेसेज छोडेँ – तिमीलाई मेरो याद आयो भने कसरी सम्हाल्छ्यौ आफूलाई ?

करिब आधा घण्टापछि हेरेँ उसले लेखेकी रहेछ – मलाई कल मेसेज केही नगरिस्यो । यदि मैले भनेको मानिसेन र कल गरिस्यो भने पुलिस रिपोर्ट…… ! म अवाक भएँ । ऊ धेरै पटक मसित रिसाएकी छ । घुर्की लाएकी छ । ब्रेकअप पनि मागेकी छ । तर, उसले अहिलेसम्म यस्तो शब्द कहिल्यै प्रयोग गरेकी छैन । आज किन यस्तो लेखी ? मैले बुझेँ तर । हामी पानीमा रुझेर धेरै लामो यात्रा हिँडेका छौँ । ऊ हरेक वर्ष, दिन, साँझ या रात मलाई सम्झन्छे । यस्तो बेला ऊ मेरो कविता सस्वर वाचन गरेर पठाउँछे–

ज्यान,
तिम्रो कसम, झरी निर्दोष छे
म झरीसित भिजेको होइन !
झरीसित मलाई भिजाउन पानी नै थिएन
मलाई भिजाउने त तिम्रो यादले हो !

फेरि झरीले त बाहिर मात्र भिजाउन सक्छ
भित्रसम्म भिजाउन त – तिमी नै चाहिन्छ !

०००

म झ्यालमा बसेर आकाश र धर्तीको प्रेमालाप हेरिरहेको छु । कति श्लील छ उनीहरूको मिलन । तर, मेरो प्रेम अवैधानिक र असामाजिक साबित भएको छ । मैले त बश् आफ्नो अधिकारबाट उठेर आफू बाँच्न पाउने अभिप्रायले उसको मुटुमा बास मागेको हुँ । म अपराधी र नैतिकहीन बनेको छु । ठहरिएको छु ।

सामाजिक नियम र मर्यादा नाघेका अकूत सम्पत्ति कमाएका सबै सम्मानित छन् । बश् मैले आफ्नो निष्ठा र आत्मसम्मानसहित बाँच्ने निर्णय गरेर उसको काखको न्यानो मागेको थिएँ । तर, म अपहेलित भएँ ।

नैतिक धर्म र आत्माबाट पतन भएर भ्रष्टाचार गर्ने, आफ्नै आमा बेच्ने, देशको नदीनाला र जमिन बेच्नेलाई उच्च आदर गरिन्छ । पुजिन्छ । मञ्चासिन गराईन्छ । सिंहासनमा बसाईन्छ । बश्, मैले आत्महत्याको विकल्पमा प्रेम रोजेँ । आफ्नो बर्कत र पाखुराको बलले परिवारको जीविकोपार्जन गर्दागर्दै मैले गुमाएको मेरो स्वतन्त्रता र आफूले गुमाएको स्वाभिमानलाई कायम गराउन सकिन्छ कि भनेर उसको प्रेमको आँगनमा फूलझैँ मगमगाउन चाहेँ । म हुरीले रूखझैँ ढालिएँ । असिनामा चुटिने बिरुवाझैँ मासिएँ । बश्, एक कमजोरीको यो सजाय किन ? के मेरो सामाजिक जीवन नै मैले बाँचेको समयको क्षतिपूर्ति हो त ? मेरो निष्ठा, कर्तव्य मात्र वैध, मेरो जीवन, मेरो अधिकार अवैध? मेरा मनोभाव र मेरो प्रश्नको जवाफ दिने केवल म हुँ । जसरी मेरा कविताको पाठक, प्रकाशक र समीक्षक-समालोचक म नै हुँ ।

मेरो हाँसो मेरो खुशीमा चट्याङ परेको पल
न रोइ धर्ती न फाट्यो आकाश म मरेको पल …. !
म सायद हुरीले निभाइदिएको दीयो हुँ
छेकेनन् मलाई निभ्न नदिन आफ्ना हातले ।

०००

साँझ निभेर रात भइसकेको छ । म त्यही रातको अँधेरोमा छिँडीको झ्यालबाट महल, सडक र वरिपरि उभिएका पहाडका आलिशान महलबाट चुहिरहेको उज्यालो आँखामा कैद गर्दैछु । जेठको प्रचण्ड रापमा पानीले जिस्किने लय समातेको छ । त्यही लयमा पानीका बूँद हौसिएर नाच्दै छन् । मेरो टिनको छानोमा नाच्न औधी मनपर्छ वर्षालाई सायद । गरिबीको उपहास यसरी पनि गर्दा रहेछन् प्रकृतिले । वा सायद ममाथि बर्सिएका पानीका बूँद कसैको नजरबाट झर्नुपर्दा वा उँचाईबाट झर्दा हुने दुखाइको क्षतिपूर्तिस्वरूप समवेदना दिन बर्सेका हुन् ।

केही मिनेटको नृत्यपछि एक्लो नृत्यबाट झिंझो लागेछ वर्षालाई सायद । बस्, बिर्बिराइरही । सिमसिम, सिमसिम । चन्द्रमाको किरणले पानीका बूँदमाथि आफ्नो उज्यालो खन्याएर भनी रहेको थियो कि– हेर र अनुभूत गर आफ्नो वर्षालाई ।

म झ्यालमा बसेर त्यही बिर्बिराइरहेको वर्षाको सङ्गीत सुन्दैछु । सायद वर्षा पनि । म उसको मेसेज पढेर अतीतमा हिँडिरहेको छु । सायद ऊ मेरा कविता र प्रेमपत्र पढेर !

मैले फेसबूक लग इन गरेँ । मेसेन्जर खोलेँ । लेखेँ—

ज्यान! पानी परिरहेको छ ?
माथिबाट तिमी हौ कि याद बर्सिरहेको छ ।

आकाशमा जून चम्किरहेको छ
मनमा तिम्रो याद उदाइरहेको छ ।

मैले हेरेको जून
तिमीले पनि देखिरहेकी हौली
मैले तापिरहेको उज्यालो
तिमी पनि न्यानो भइरहेकी हौली

हावा बहिरहेको छ
पानी परिरहेको छ

हावा चञ्चल छ
पानी मजस्तै बदमास छ

मलाई छोएर बहेको हो हावा
जोगिनू, मोहनी लगाइदेला
मलाई चुमेर बगेको हो पानी
प्रेमको गर्भादान गरिदेला

अनायासै
तिम्रो मनको राजदूत मुख बोल्देला,
सबैसामु तिम्रो पोल खोल्देला,
ज्यान, मलाई नतड्पाऊ
आऊ,
मलाई उपभोग गर !

०००

बाहिर कारखाना छ, फर्निचरको । त्यहाँ एफएम घन्किरहेको छ । गायक विक्रम सुवाल गाइरहेका छन्–

छोडी जान हुन्थ्यो प्रीति नलाएको भए
तोडी जान हुन्थ्यो बाचा नलाएको भए
सायद हाम्रो हृदयमा मुटु हुँदै हुन्न
जति दुखोस् अरूलाई हाम्रो आँखा रुन्न

झरझर साउन झरिरह्यो भदौ थामिएन
बगिरहेँ छाल पिई किनार भेटिएन
हल्लाको परिधिमा अमर प्रीति चुन्न
सायद हाम्रो हृदयमा मुटु हुँदै हुन्न
जति दुखोस् अरूलाई हाम्रो आँखा रुन्न …!

ऊ चाहन्छे मैले हिम्मत गरोस् । त्यो अन्याय र अपहेलनाको दलदलबाट बाहिर निस्किएर स्वच्छ आकाशमा विचरण गरोस् भन्ने उसको सिफारिस छ । म युद्ध हारेको सिपाहीझैँ जित्नेको शिविरमा कैद छु । दशकौँदेखि बाँधिएको जञ्जीर तोड्ने हिम्मत नभएको भूपू लडाकूझैँ श्रीहिन, शक्तिहीन छु ।

मानौँ कुनै तानाशाहले प्रेम गरेको अभियोगमा कालकोठरीमा हालिएको प्रेमीको आँखाझैँ भएको छु म । अन्धकारमै सबै देखिने भएको छु । अँध्यारोमै दीयो छोडिदिए हुन्थ्यो । लाग्छ दीयो बलेपछि पनि देखिने, रहने अँध्यारोप्रति घृणा छ मलाई । या, वा, अभ्यस्त छन् मभित्र व्याप्त उज्यालो अन्धकारमा कैद हुन !

चिहानको भाग्यमा न वसन्त न हेमन्त ।
म डुबिसकेको घाम हुँ
म हारिसकेको जुवा हुँ

न घाम न जून भएन कहिल्यै उज्यालो ।
मेरो भागको जिन्दगी सधैँ चिसो चिसो चिसो ।
न फूल न सुगन्ध आएन कहिल्यै बहार ।
मेरो भागको जिन्दगी सधैँ उजाड उजाड उजाड !

मेरो मुटुको हरियालीमा पहिरो पठायो सही दिएँ । मेरो छातीको बगैँचालाई बाढीले बगायो चुप रहेँ । किन दैवले मेरो खुशी सहेन ? किन हाँसोमा प्रतिबन्ध लगायो ? मेरो हाँसो खुशीयालीमा भूकम्प चलायो केही भनिनँ । मेरो प्रेमको धर्तीलाई खडेरी बनायो आइया भनिनँ । किन दैवले मेरो हाँसो सहेन ? किन मेरो सुखमा प्रतिबन्ध लगायो ? हाँस्नै नहुने बाँच्नै नपाउने यो जीवन मसान हो कि सपनाको चिहान ?

०००

मलाई उसको हर इशाराको मतलब थाहा हुन्छ । ऊ चाहन्छे– मेरो सरुवा होस् । वा पुरानो सम्बन्धको जागिर छोडोस् । भन्छन्– जस, सम्मान र प्रेम नभएको ठाउँमा भगवान पनि त बस्दैन नि ! प्रेम नगर्ने प्रियसी र आपतमा सहयोग नगर्ने साथी दुबै फुटेको सिसा वा चर्केको माटोको भाँडोजस्तै फाल्नु बुद्धिमानी हो । अब ढिला नगरी डिभोर्स दिइस्यो ।

उसको एकएक मनोभाव म जान्दछु । ऊ चाहन्छे– मैले बसाइँ सरोस् । त्यो अपमान, आरोप र घृणाको चिहानजस्तो डेराबाट कतै आत्मसम्मानसहितको घरमा बसोस् ।

मैले हारेको हिम्मतलाई ऊ लामो अन्धकारपछि आउने उज्यालोझैँ देख्न चाहन्छे । तर, मैले हिम्मत गर्न नसकेको कुरा उसलाई बुझाउन सक्दिनँ । उसको परिवारमा गएर मैले उसलाई माग्नु कसरी ? विभेद छ । वर्ग छ । जातीयता छ । अनि मेरो वर्तमान परिवेश र पारिवारिक स्थिति । नैतिकता र इमान्दारीबाट त म खसिसकेको हुँ । रुढी समाज र ढोँगी सामाजिकताको नजरबाट गिरेको उहिल्यै हो ।

उसलाई जग्गेमा बस्नु छ । बस्! मेरी दुलही बनेर सजिनु छ । पण्डितको मन्त्र सुन्नु छ । पञ्चे बाजाको मधुर ध्वनिमा मुग्ध हुनु छ । उसलाई चाहना छ मेरै अङ्गालोमा बाँधिएर संसारका सारा खुशी प्राप्त गर्ने । कहिले आमाको स्वरूपमा मेरो स्याहार गरेर । कहिले बुवाको अवतारमा कर्तव्य पालना गरेर । कहिले दाइ भएर, कहिले दिदी भएर मलाई प्रेमको बगैँचाझैँ रेखदेख गर्ने । र, मेरो प्रेमको हरियो बगैँचामा पिरतीको प्रेमप्रतीक जन्माउने ।

कहिले बहिनीको प्यार र कहिले भाइको संस्कारजस्तै घरमा सुगन्धित हुने मन छ उसको । साथीको जस्तो सहयोग र प्रेमिकाको जस्तो चञ्चलतामा बाँच्ने इच्छा छ उसको । म चाहन्न कसैको आवश्यकता वा चाहतमा सीमित रहन । जस्तो कि म अहिले छु । म चाहन्छु कि म कामना वा मनोकाँक्षा बनूँ ।

मेरी दुलही बनेर मेरो दुनियाँ सजाउने उसको सपना कसरी पूरा होला ? किनकि देशमा कानून छ र समाजमा मूल्य अझै बाँकी छ । म त एक छायापुत्र हुँ । मेरो नजर उसको जीवनमा पर्ने बित्तिकै हराउन सक्छ मगमग सुवास छरिरहेको उसको पूmलजस्तो खुशी ।

असारमा जन्मिएँ । मेरी आमाले– तँ असारपुत्र होस्, अब तैँले मंसिर फलाउनुपर्छ भन्नुभएजस्तै हुन सकिनँ ।

मेसेन्जरमा मलाई ब्लक उहिल्यै गरेकी हो उसले । इमेलमा लेखेको छु—

ज्यान,
तिम्रो सिउँदो जूनताराले सजाउन सकिनँ
तिम्रो आँगनमा खुशीको बाढी बगाउन सकिनँ

म दुलाहा र तिमीलाई दुलही बनाउन सकिनँ
तिम्रो कोख लालाबालाले भराउन सकिनँ

मलाई माफ गर वर्षा उर्फ असारपुत्री
तिम्रो जीवन इन्द्रेणीले रङ्गाउन सकिनँ

आएम सो सरी ल !

-काठमाडौँ