दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित

दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच टि-२० आई सिरिजको दोस्रो टि–२० आईमा हार बेहोरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।

सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद सुन्य रनमा अविजित रहे । केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए । करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

केन्या र नेपालबीचको खेल तालिका

तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)

चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)

पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)

दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)

तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)