गठबन्धनको सिट बाँडफाँटमा कांग्रेस लचक हुने संकेत

गठबन्धनको सिट बाँडफाँटमा कांग्रेस लचक हुने संकेत

९० लाई बटमलाइन बनाउने र अन्तिममा ८६/८७ सीटमा सहमति जनाउने सम्भावना


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा लचक हुने संकेत गरेको छ ।

गठबन्धनमा १०० सिटको दाबी गरेको कांग्रेसले अन्तिममा देशभरका १६५ मध्ये ८९ सीट अन्य सहयात्री दललाई छाडेर ८६ सिटमा चित्त बुझाउने संकेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदलका सदस्यहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् ।

कांग्रेसका एक नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९० लाई बटमलाइन बनाउने र अन्तिममा ८६/८७ सीटमा सहमति जनाउने सम्भावना छ । तर, पार्टीमा इतर समूह भने सय सिटबाट तल झर्न नहुने अडानमा छ । अन्य दललाई छाड्नै परे पनि कम्तीमा ९४ सिट कांग्रेसले पाउनुपर्ने इतर समूहको अडान रहेको ती नेताले बताए ।

साथै कांग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताको भनाइ छ ।