चुनावअघि चीनबाट नेपालमा उच्च तहको भ्रमण

चुनावअघि चीनबाट नेपालमा उच्च तहको भ्रमण

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झान्शु भदौ २७ देखि ३० सम्म नेपाल भ्रमणमा


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चहलपहल बढी रहेको बेलामा उत्तरी छिमेकी देश जनवादी गणतन्त्र चीनबाट उच्चतहको भ्रमण हुन लागेको छ ।

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्शुले नेपालको चार दिने भ्रमण गर्न लागेका हुन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्शुले सोमबार (भोलि)देखि नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपालको औपचारिक भ्रमण गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन्, ली । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।

सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए। चीनबाट पछिल्लो समय पटक-पटक नेपालको भ्रमण भइरहेको छ ।

नेपाल भ्रमणमा रहदा अध्यक्ष ली र सभामुख सापकोटाले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यमक्रम तय भएको पनि मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गगर्नेछन् । यसैगरी सोही दिन उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन्, भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।