फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दै आए पनि त्यसको लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन् 


ग्लोब नेपाल
216
Shares

काठमाडौं । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ ।

शुक्रबार दिउँसो नै निगमले खरिद गर्ने मुख्य पेट्रोलियमको खरिद दर घटेर आए पनि नेपाली बजारका लागि निर्धारण गरिएको बिक्री मूल्य समायोजन गरिएको छैन ।

स्रोतका अनुसार शुक्रबार नयाँ खरिददर प्राप्त हुँदा पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ । ‘आइओसीले मूल्य घटाएर पठाएको छ, तर नेपाली बजारमा समायोजन गर्ने कुनै तयारी छैन,’ निगमका एक कर्मचारीले भने । पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन नेपाली बजारमा मूल्यवृद्धि गर्ने निगमले घटेर आउँदा भने स्थिर राख्ने पुरानो प्रवृत्तिलाई यस पटक पनि निरन्तरता दिएको छ ।

निगमका एक कर्मचारीका अनुसार मूल्य घटेर आए पनि आयल निगमलाई अझै घाटा छ । ‘घटेर आएको खरिददरमा विभिन्न लागत जोडेर तय भएको बिक्री मूल्यअनुसार इन्धन कारोबार गर्दा पनि निगमलाई आगामी १५ दिनसम्म १० करोड रुपैयाँ घाटा हुने देखिन्छ,’ एक कर्मचारीले भने ।

विगत डेढ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्दा आयल निगमले चरम आर्थिक नोक्सानी खेपेको छ ।

निगम अहिले १० अर्ब रुपैयाँ ऋण र २० अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको छ । तेल कारोबार गर्दा लागेको ऋण र बक्यौता नतिरेसम्म नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्ने निगमले यसअघि नै प्रस्ट पारेको थियो ।

आयल निगम स्रोतका अनुसार अहिले निर्धारण गरेको बिक्री मूल्यमा पेट्रोलमा ९.२५ रुपैयाँ नाफा छ भने डिजेलमा ५.६० रुपैयाँ प्रतिलिटर नोक्सानी छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा तीन सय ७८ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान छ ।

१५ दिनअघि भने पेट्रोलियम पर्दाको मूल्य बढेर आएकै दिन आयल निगमले नेपाली बजारमा मूल्यवृद्धि गरेको थियो । गत १६ भदौमा भारतबाट नयाँ खरिददर आउँदा पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाई इन्धन ०१ रुपैयाँ प्रतिलिटर मूल्य बढेर आएको थियो । सोही दिनको राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलमा समान ६ रुपैयाँ मूल्यवृद्धि गरी प्रतिलिटर एक सय सात रुपैयाँ बिक्री मूल्य तय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ठुलो अन्तरले गिरावट आएको छ । साढे तीन महिनायतादेखि निरन्तर घट्दै आएको कच्चा तेलको भाउ आइतबार साँझ ८५.११ डलर प्रतिब्यारेलमा झरेको छ । यसअघि १२ माघमा कच्चा तेलको भाउ ८५.१२ डलर प्रतिब्यारेलमा थियो । त्यसपछि निरन्तर बढ्दै कच्चा तेलको भाउ एक सय ३९ डलर प्रतिब्यारेलसम्म पुगेर अहिले पुनः ओर्लन थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दै आए पनि त्यसको लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन् ।