टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाइदै

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाइदै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । दसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाउने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष देशका अधिकांश स्थानमा वर्षा भएकाले टीका लगाउन जानेहरूको चहलपहल भने कम देखिएको छ । बडादसैँ आफैँमा शुभ भएकाले कोजाग्रत पूर्णिमासम्म जतिबेला पनि टीका लगाउँदा हुने जानकारहरू बताउँछन् ।

सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम पूर्णिमासम्म रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।