नारायणहिटी दरबारको दुखान्त इतिहास

नारायणहिटी दरबारको दुखान्त इतिहास



नारायणहिटी दरबार सर्बप्रथम तत्कालीन प्रधान सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा धौकलसिंह बस्न्यातले निर्माण गरेका हुन् । नेपाल एकीकरणको क्रममा बहादुरीपूर्वक लडेर धेरै ठाउँमा बिजय प्राप्त गरेबापत तत्कालीन काजी धौकलसिंह बस्न्यातलाई श्री ५ रणबहादुर शाहले खुशी भएर बक्सिस स्वरुप हजार रोपनी भन्दा बढी जग्गा दिए । सो जग्गा बक्सिसको रुपमा पाएपछि बि.स. १८४० मा धौकलसिंहले रणबहादुर शाहबाट दरबार बनाउने अनुमति पाए । उनले सो जग्गामा भब्य दरबार बनाए । सो दरबारलाई उनले ‘कृति मन्दिर’ नाम दिए ।

धौकलसिंहकी माता सुरप्रभा नारायणको भक्त थिइन । त्यसैले उनले कीर्ती मन्दिर दरबारभित्र नारायणको मन्दिर बनाउन लगाइन । मन्दिरको अगाडी प्राचिनकालदेखि ढुङ्गेधारा थियो । त्यसलाई हिटी भनिन्छ । त्यही हिटी र नारायणको मन्दिरको संयुक्त नामबाट नै ‘नारायणहिटी’ नाम रहन गयो ।

सो दरबारका काजी धौकलसिंह बस्न्यातलाई बि.स.१८५७ असारमा कुमाउ, गडवाल क्षेत्रको रक्षार्थ त्यहाँको प्रमुख बनाएर पठाइयो । उनलाई अर्को बर्ष अर्थात बि.स. १८५८ बैशाखमा षड्यन्त्र गरी आफ्नै सेनाद्वारा गडवालमै हत्या गरियो ।

धौकलसिंहको हत्यापश्चात् शक्तिमा आएका भीमसेन थापाले कुनै कारण बिना नै सो ‘कीर्ति मन्दिर’ राज्यमार्फत जफत गराए । पछि सो दरबार आफ्ना साहिंला भाइ काजी बख्ताबिरसिंह थापालाई दिए । बि.स. १८९४ असार ५ गते राजकाजसम्बन्धी विभिन्न आरोप लगाएर भीमसेन थापालाई प्रधानमन्त्री पदबाट हटाइयो । साथै उनलाई राजा गिर्बाण युद्द बिक्रम शाह र राजकुमार देबेन्द्र बिक्रम शाहलाई बिष खुवाएर मारेको आरोप लगाई जेलमा हालियो । भीमसेन थापाको पतनपछि नारायणहिटी दरबार बख्ताबिरसिंह थापाबाट खोसेर राज खलककै चौतारिया फत्यजङ्ग शाहलाई दिइयो ।

बि.स. १९०३ आश्विन २ गते भएको कोतपर्व हत्या कान्डमा तत्कालीन प्रधानमन्त्री एवम् नारायणहिटी दरबारका मालिक फत्यजङ शाहसहित उनका छोरा खडग बिक्रम शाह पनि मारिए । फत्यजङ्ग शाहको हत्या पश्चात् उनको सम्पूर्ण परिवारलाई त्यस दरबारबाट निकालियो । त्यसपश्चात् सो दरबार तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले जबर्जस्ती हडपिएर आफ्ना भाइहरु रणोदिपसिंह राणा र धीर शम्सेरलाई दिए । धौकलसिंह बस्नेतले निर्माण गरेको दुइवटा दरबार मध्य कीर्ती दरबारमा रणोदिपसिंह राणा बसे भने अर्को दरबारमा धीर शम्सेर बसे ।

धीर शम्सेर सोही दरबारमा रहदा बि.स. १९४१ आस्विन ३० गते घाँटीमा हड्डी अडकिएर मरे । बि. स. १९४२ मा धीर शम्सेरका जेठा छोरा वीर शम्सेर श्री ३ महाराज भएपछि आफ्नो बाबुको भागमा परेको सो दरबार भत्काएर बि.स. १९४७ मा लाल दरबार नामको भब्य दरबार निर्माण गर्न लगाए । वीर शम्सेरले निर्माण गरेको लाल दरबार बि. स. २०३४ कार्तिक ११ गतेबाट याक एन्ड यति होटल संचालनमा छ ।

बि. स. १९३३ मा श्री ३ महाराज जङ्गबहादुर राणाको निधन पश्चात् रणोदिप सिंह राणा श्री ३ महाराज बने । १९३८ सालको हनुमान ढोका हत्याकान्डको असफल प्रयासपछि हनुमान ढोका दरबारमा रानी र अन्य भाइ भारदारको षड्यन्त्रबाट बालक राजा श्री ५ पृथ्वी वीर बिक्रमको हत्या हुनसक्ने भएकोले श्री ५ पृथ्वी वीर बिक्रम शाहलार्इ आफूसँगै नारायणहिटी दरबारमै राख्न थाले ।

बि. स. १९४२ मंसिर ६ गते राती तत्कालीन श्री ३ महाराज रणोदिपसिंह राणालाई उनकै भतिजाहरु वीर शम्सेर, खडग शम्सेर, डम्बर शम्सेर, चन्द्र शम्सेर लगाएतकाले नाराणहिटी दरबारभित्रै गोली हानी हत्या गरे । रणोदिपसिंह को हत्यापश्चात् वीर शम्सेर जबरा श्री ३ महाराज भए भने सो दरबार पनि वीर शम्सेरको स्वामित्वमा आयो ।

बि.स. १९४३ मा श्री ३ वीरशम्सेर जबरा ले ‘कीर्ती मन्दिर दरबार’ भत्काएर त्यो भन्दा पनि अर्को भब्य दरबार निर्माण गर्न लगाए । त्यस दरबार को डिजाइनर जोगबिर स्थापित थिए । पछि सो दरबारलाई नारायणहिटी दरबार भन्न थालियो । सो पश्चात् उनले आफ्नी दुर्इ छोरीहरु किर्तीदिब्यश्वरी र दुर्गा दिब्यश्वरीको बिबाह तत्कालीन राजा श्री ५ पृथ्वी बिक्रम शाहसँग गराइ सो नारायणहिटी दरबार छोरीहरूलाई दाइजोको रुपमा दिए । त्यसपछि शाह राजाहरू हनुमान ढोका दरबार छोडेर स्थायी रुपमा नारायणहिटी दरबारमा बस्न थाले भने सो दरबारको स्वामित्व पनि शाहवंशीय राजाहरुमा आयो ।

बि.स. १९९० को महाभुकम्पमा वीर शम्सेरले निर्माण गरेको नारायणहिटी दरबार भत्कियो । भुकम्पमा राजा त्रिभुवनका दुई छोरीहरुको पनि मृत्यु भयो ।त्यसपछि राजा त्रिभुवनले बास्तुकलाबिद इन्जिनियर सूर्यजङ्ग थापाको डिजाइनमा त्रिभुवन सदनको निर्माण गर्न लगाए । बि.स. २०११ सालमा तत्कालीन राजा श्री ५ त्रिभुवनको निधन भएपछि राजा महेन्द्रको स्वामित्वमा आएको सो दरबारलाई बि.स. २०२० सालमा राजा महेन्द्रले त्यसबखतको चर्चित डिजाइनर कलकत्ता स्थित चटर्जी एन्ड पोल्कका संचालक अमेरिकी नागरिक बेन्जामिन पोल्कलाई काठमाडौ ल्याइ हालको नारायणहिटी दरबारको डिजाइन गराइ सो दरबारको निर्माण गर्न लगाए । ७ सय ५३ रोपनी जग्गामा बनेको सो दरबार निर्माण सम्पान्न गर्न ६ बर्ष लागेको थियो । नारायणहिटी दरबार संरचनाले ४० हजार ८२० बर्गफुट ओगटेको छ । बि. स. २०२६ सालमा ५२ कोठासहित को अत्याधुनिक र भब्य नरायणहिटी दरबारको निर्माण कार्य सम्पन्न भयो ।

नारायणहिटी दरबारमा बि. स. २०५८जेष्ठ १९ गते राती रहस्यमयपूर्ण घटनाबाट तत्कालीन राजा श्री ५ वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन अधिराजकुमारी श्रुतिलगाएत १० जनाको निर्ममतापुर्वक हत्या गरियो । त्यसपछि राजा वीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्र राजा भए । सो दरबार पनि उनकै स्वामित्वमा आयो । २०६२–०६३ को आन्दोलनबाट राजतन्त्रको अन्त्यसँगै २०६५ जेष्ठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाडेर आफ्नै निजी निवास निर्मल निवास मा बस्न गए । सो दरबार नेपाल सरकार अन्तरगतको ‘नेपाल ट्रस्ट’ को स्वामित्वमा आयो । बि.स. २०६५ असार १ गते सो दरबार संग्रालय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उदघाटन गरे । बि. स. २०६५ फाल्गुन १५ देखि दरबार संग्रालय सर्बसाधारण जनताको लागि खुल्ला गरियो ।