बर्दघाट । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरले निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
चौधरी २९ हजार ४९५ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गरेका थिए।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ मा ८४ हजार २ सय २९ मत खसेको थियो। कांग्रेस केन्द्रीय सदस्य चौधरीको विजयसँगै नवलपरासीमा पूर्वमन्त्री त्रिपाठीको ३० वर्षदेखिको साम्राज्य पनि ढलेको छ ।
२०४८ सालदेखि लगातार चुनाव लड्दै आएका त्रिपाठी पाँच पटक निर्वाचित भइसकेका छन् भने आठ पटक मन्त्री भएका हुन् । ‘विकासका लागि राजनीति’को मूल नारा लिएर चुनावमा होमिएका चौधरीलाई जनताले अत्याधिक मतले अनुमोदन गरेका हुन् ।
प्रतिक्रिया