सायदै उब्जन्छन् होला
आफैंमा
अनेकानेक
दैहिक चिन्तनाका तरङ्गहरू
गर्भदेखि धर्ती,
घिर्सदै बामे सरेर
बालक्रिडामा माटो चाटेको याद
माटो खेलेर हुक्रेको धुतुमुने शरिर
कालो डाँम परेका घुँडाको बलले
भित्ता समातेर हिडेको समयले
कति गर्न सक्यो र देह चिन्तन
त्यही देह हो
कतै आलस्य/उत्तेजना,
कतै शिथिलता
थर्थराउने ओठ,गाला
फर्फराउने आँखि भौ,परेली
छाती,नाभि
बारुली कम्मरको
अग्रभाग र पृष्ठभूमि
दाग र तीलकोठी
तलै तलका केराखम्बे जङ्घा
पिडुला,कुर्कुचा र पैतालाको सहारामा अडेको छ
एउटा छाँयाको सहयात्री
कल्पनातीत परिभ्रमणको क्रम
देखेर शरिरका अवयबहरू
मात्र ऐनाले हेर्यो होला
सहधर्मा र सहधर्मिणी हेरे/देखे होलान्
तत्क्षणका लागि स्वयंमा हेरेर
नग्न वा वस्त्रवेष्टित देह
कसमा आयो होला
संस्कार पश्चात्को वैराग्य ?
जिब्रोको मिठास वा तितोपना
मासुका पिण्ड
स्खलित रजरसहरू
माया,ममता
राग,द्वेषको भण्डार
विकारको संचयन
केवल अस्तिपञ्जर ढाक्ने
छालाको आवरण
दैहिक धरातलमा मडारिने
रतिरागका उच्छवासहरू
एकछिन बिर्सेर
चेतमा,चेतना शुन्यमा
कसले गर्यो दैहिक चिन्तना ?
धर्ती मै अवतरित
धर्ती मै विसर्जित
दैहिक रचनाको सम्पूर्ण अस्तित्व
शरीर हो र ?
ललितपुर,गोदावरी
प्रतिक्रिया