धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले ३० दिनभित्र विश्वासको मत लिन नसक्दा पदमुक्त भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।
विश्वासको मतका लागि बिहीबार दुई पटकसम्म बैठक स्थगित गरिएको थियो । २७ पुसमा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए । तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावलले एक महिना हुँदा पनि विश्वासको मत लिन सकेका थिएनन् । सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ ।
रावल स्वतः पदमुक्त भएका छन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा अब नयाँ सरकार बन्नेछ । सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र एक जना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् ।
प्रतिक्रिया