काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको हाे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।
वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए । बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरु तोडफोड समेत गरेको थियो । समस्या समाधानका लागि आज बिहानैदेखि सिंहदरबारमा सरकार र यातायात मजदुरका प्रतिनिधिहरुबीच वार्ता भएको थियो ।
सहमतिका बुँदाहरु
१. उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने ।
२. मिति २०७९/११/०१ गते काठमाडौँस्थित गोंगबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने
३. क. मिति २०७९/१०/११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने
ख. मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने
४. मिति २०७९/११/०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हडताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने
५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा. लि. बीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठनहरु र यातायात व्यवसायी महासंघहरुबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने


प्रतिक्रिया