राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री दाहाल स्पष्ट

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री दाहाल स्पष्ट


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रकृया आउँदो बुधबारबाट सुरु हुँदैछ । आउने बुधबार फागुन १० गते मतदाता नामावली प्रकाशनसँगै प्रकृया सुरु हुनेछ । फागुन १३ गते शनिबार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

अबको २० दिनपछि फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटघाट र छलफलको समय र संख्या पनि बढेको छ । प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएपछिको ३८ दिनमा ‌‌ओली र दाहालबीच आज शुक्रबारसहित १३ पटक भेटघाट र छलफल भएको छ । हिजो बिहीबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा सबैभन्दा लामो र चर्को छलफल भएको थियो । त्यही चर्को छलफललाई मत्थर पार्न प्रधानमन्त्री दाहाल आज शुक्रबार ओली निवास बालकोट पुगेका थिए ।

छलफलमा एमाले अध्यक्ष ओलीले समझदारी अनुसार वर्तमान सत्ता गठबन्धनलाई जोगाउदै पुस १० को समझदारी अनुसार नेकपा एमालेबाटै राष्ट्रपति हुनुपर्ने विषय दोहोर्‍याएर राखेका छन् । उनले हिजो र आज पनि त्यही कुरा राखे । तर प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनको विषयमा अध्यक्ष ओलीसँग तीनवटा विषय प्रष्टसँग राखेका छन् ।

प्रधानमन्त्रीको प्रेस सचिवालयका अनुसार हिजो बिहीबारको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राखेको तीनवटा बुँदामध्ये पहिलो थियो– शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणको सिद्धान्त बमोजिम विगतमा नचल्दा भएका दुर्घटनाबाट शिक्षा लिनुपर्ने ।

दोश्रो– प्रतिनिधिसभामा पुस २६ गते प्रधानमन्त्रीलाई प्राप्त विश्वासको मतलाई जोगाएर लानुपर्ने र तेश्रो– राष्ट्रपति संविधानको रक्षक र अविभावक हुने भएकाले त्यो जिम्मेवारी बोक्न सक्ने व्यक्तित्व र यसका लागि खासगरी तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सहमति कायम होस् भन्ने प्रधानमन्त्री दाहाल चाहन्छन् ।

भावी राष्ट्रपतिबारे नेकपा माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने समाचार सार्वजनिक भएको छ । हिजो विहीबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच विगतका भन्दा लामो छलफल भएको थियो। त्यही विषयलाई स्पष्ट पार्न आज पनि प्रधानमन्त्री दाहाल संवादका लागि ओली निवास बालकोटमै पुगेका हुन् ।

निर्वाचनको मिति नजिकिँदो भए पनि हालसम्म संसदमा रहेका दुई ठूला दल काँग्रेस र एमालेको मात्र राष्ट्रपति पदमा दाबी आएको छ । कुनै पनि दलले उम्मेदवार को भनेर नाम सार्वजनिक गर्न भने सकेका छैनन् । पहिलो र दोश्रो कार्यकालको सिकाइ र अनुभवबाट दुई ठूला दललाई मिलाएर दाहाल पाँचै वर्ष प्रधानमन्त्री बन्न चाहन्छन् ।