दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना संविधानमा छैन : महासचिव गुरुङ

दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना संविधानमा छैन : महासचिव गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषका व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन् ।

महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पार्टीको पदाधिकारी बैठक बस्नु अघि पत्रकारसँग कुरा गर्दै संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताए ।

गुरुङले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन । राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो । दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ । सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ । दलको क्यान्डिडेटलाई मान्न सकिँदैन ।’

उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।

‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले कुनै दलले प्रस्ताव राख्न पाउने भएपनि कुनै दल विशेषलाई राष्ट्रपति बनाउन नसकिने बताए ।

जसले साझा सहमति जुट्न सक्ने पात्र अघि सार्छ, जसले राष्ट्रियता र संविधानको पक्षमा काम गर्छ र उसैलाई माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने महासचिव गुरुङको भनाई छ ।