राष्ट्रपतिमा देउवा र नेपालको चर्चाले राजनीति नयाँ कोर्षतिर

राष्ट्रपतिमा देउवा र नेपालको चर्चाले राजनीति नयाँ कोर्षतिर


ग्लोब नेपाल
4.6k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच सोमबार भएको भेटमा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । पार्टी विभाजनपछि व्यक्तिगत आरोप प्रत्यारोप चलिरहेकै बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तै, नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बन्न दबाब बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) लाई एमालेसँगको गठबन्धनबाट अलग गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ३ वर्ष प्रधानमन्त्री बन्नसमेत प्रस्ताव गरिसकेको कांग्रेसभित्र देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाले नेपालको राजनीतिले अब नयाँ कोर्ष लिने विश्लेषण गरिएको छ ।

तर पार्टी सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेका छन् । पूर्व महामन्त्री कृष्ण सिटौला पनि राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने कांग्रेसभित्र चर्चा चलेको छ । यद्यपि एक्कासी पार्टी सभापतिलाई नै राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा ल्याइएको छ । राष्ट्रपतिको निर्वाचनको मनोनयन यही फागुनको १३ गते कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।