सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानद्वारा राखेपलाई पत्राचार

सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानद्वारा राखेपलाई पत्राचार



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजान आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको हाे ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् । तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो ।

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

खेलकुदको मुख्य निकाय राखेप भएकाेले राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्ने क्यानले बताएकाे छ ।

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।