काठमाडौं । राष्ट्रपति पदको साझा उम्मेदवारमा सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज निर्णायक वार्ता हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दै छन् ।
राष्ट्रपतिको विषयमा दलहरुबीच सघन छलफल भइरहेका बेला प्रधानमन्त्री दाहालले आज अध्यक्ष ओलीसँग वार्ता गर्ने तयारी गरेका हुन् । हिजो साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठकबाट बाहिरिने क्रममा उनले अध्यक्ष ओलीसँग भेटवार्ता हुनेबारे जानकारी दिएका थिए ।
आजै नेपाली कांग्रेससँग पनि वार्ताको तयारी गरिएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी गरिएको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो ।
हिजो साँझ तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेससँगको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषय निर्धारण हुने बताएका थिए ।
निर्वाचन आयोगले भोलि शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन तालिका तय गरेको छ । राष्ट्रपतिको मनोनयन दर्ताको अघिल्लो दिन आज निर्णायक संवादमा प्रमुख दलहरु जुट्न थालेका हुन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया