सन्दीप खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

सन्दीप खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेशबाट फर्किएको १५ दिनभित्र अदालतलाई जानकारी गराउनु पर्ने भएको छ । सर्वोच्चले सन्दीपलाई क्रिकेट खेल्न जान अनुमति दिँदै फर्केपछि भने १५ दिनभित्र काठमाडौँ जिल्ला अदालतमा जानकारी गराउन आदेश दिएको हो ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो । इजलासले मुद्दाको छिटो टुंगो लगाउन आदेश पनि दिएको छ ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो । लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेश समेत जान पाउने अनुमति दिएको छ ।