ड्रामाबाट ग्र्याजुएट भएका विमल निर्देशक भएपछि…

ड्रामाबाट ग्र्याजुएट भएका विमल निर्देशक भएपछि…



काठमाडौं । झण्डै एक दशकअघि नेसनल स्कुल अफ ड्रामाबाट ग्र्याजुएट भएका रंगकर्मी विमल सुवेदी अहिले निर्देशक बनेका छन् । भारतको दिल्लीमा जुन स्टेजबाट उनी कलाकारको रुपमा विदा भएका थिए, अहिले त्यही स्टेजमा निर्देशक भएर पुगेका छन् ।

नाटक ‘दि कन्फेसन’ लिएर सुवेदी दिल्ली पुगेका हुन् । आइतबार नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटकलाई सुवेदीले निर्देशन गरे । ‘म जुन स्टेजमा कलाकारको रुपमा यो ठाउँबाट विदा भएको थिएँ । आज त्यही ठाउँमा निर्देशकको रुपमा नाटक लिएर आउन पाउँदा अरु भन्दा पनि नोस्टालजिक बढी भएको छु,’ विमलले भावुक हुँदै सुनाए ।

जगदिश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित भई तयार पारिएको साे नाटकमार्फत् नेपालभारत सहकार्यले सांस्कृतिक रुपमा सम्बन्ध दिगो बनाउन थप काम गर्ने बाटो खोलेको कार्यक्रममा विमलले बताए । गरिबीलाई केन्द्र राखी शासकमाथि गरेका अनेक प्रश्नको संगालोको रुपमा तयार भएको उपन्यासमा आधारित रही सन् २०१३ मा विमलले ‘साविती’ नाटक तयार गरेका थिए ।

एक सो भएपछि बन्दभएको नाटकलाई निर्देशक सुवेदीले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन् । भारतमा यो नाटकले ४ पटक स्टेज टेकिसकेको छ । यो नाटक भारतमा सन् २०१८ मा नयाँ दिल्लीकै साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियाे । यसको एक वर्षपछि नाटक भारतको जम्मु कश्मिरमा मञ्चन भएको थियो ।

भारतकै प्रतिष्ठित मानिने नेसनल स्कुलअफ ड्रामाको मञ्चमा आइतबार अनुराधा मजुमदारले मुख्य भूमिका निर्वाह गरेको नाटकले एकालापको शैलीमा यौन हिंसादेखि सार्वजनिक सरोकारका यावत् विषयमा प्रश्न गर्छ । सँगै नाटकले पुरुष र पुरुषवादी सत्ताको नियन्त्रणमा रहेकी महिलाको विद्रोहको कथा प्रस्तुत गर्छ ।

नाटक हेर्न आएका दर्शक कलाकारको अभिनयसँगै सेटको मिहिनेतको तारिफ गर्दै निस्किएका थिए । धेरै वर्षपछि नाटक हेर्ने मौका पाएको बताउँदै भारतका लागि नेपाली राजदूतशंकर शर्माले नाटक प्रभावशाली लागेको प्रतिक्रिया दिएका थिए । नेसनल स्कुलअफ ड्रामाका पूर्व निर्देशक तथा भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री विजेता रामगोपाल बजाजले नाटकले आफूहरूलाई चुनौती दिएको प्रतिक्रिया दिएका थिए । नाट्यकर्मी तथापद्यश्री विजेता रीतागांगुलीले पनि नाटकको तारिफ गर्दै दुई शब्द बोल्छु भन्दै ‘वाह ! वाह!’ गरेकी थिइन् ।

नाटक भित्र अनुराधामजुमदारलाई मञ्चमा साजन सुनुवार र प्रजित बस्यालले साथदिएका थिए भने जेनी सुनुवारले सहायक निर्देशन गरेकी थिइन् । चक्रपुलामीले प्राविधिक रुपमा साथ दिएका थिए । नाटक लेखनमा निर्देशक सुवेदीलाई सुरज सुवेदीले साथ दिएका छन् ।