म मन्त्री बन्दिन, प्रचण्ड निरन्तर प्रधानमन्त्री : उपसभापति खड्का

म मन्त्री बन्दिन, प्रचण्ड निरन्तर प्रधानमन्त्री : उपसभापति खड्का



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निरन्तर सरकार चलाउने खुलासा गरेका छन् ।

गृहनगर सुर्खेत आएका उपसभापति खडकाले सो सहमति अनुसार कांग्रेसले राष्ट्रपतिका उम्मेदवारी दर्ता गरेको उपसभापति खडकाले जानकारी दिए ।

माओवादीका अध्यक्ष प्रचण्डले अढाई वर्ष, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारसहित डेढ वर्ष सरकारको नेतृत्व गर्ने जनाईरहेको बेला उपसभापति खडकाले उक्त कुरा बताएका हुन् ।

उनले ८ वर्षअघि नै कुनै पनि सरकारमा मन्त्री नहुने जनाएकाले प्रचण्ड सरकारमा पनि सामेल नहुने जानकारी दिए । उपसभापति खड्काले भने, ‘म मन्त्री बन्दिन। मैले मन्त्री नबन्ने कुरा २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको हुँ। र, त्यसमा म अहिलेसम्म पनि अडिग रहेको छु।’

‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने छ’ उनले थपे, ‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र सरकार पूर्णता पाउने दाबी गरे ।