काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरिएकाे हो । विश्वासको मतका लागि उनले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराएका थिए ।
यसअघि गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तोकिएको समयमा रावलले विश्वासको मत नपाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीलगायत दल मिलेर सरकार बनाए पनि अन्तिम समयमा आएर माओवादी र नागरिक उन्मुक्तिले यथास्थितिमा मत दिन नसकिने बताएका छन् ।
५३ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४ र स्वतन्त्रका एक सदस्य छ्न् भने एमालेका १० र राप्रपाका एक गरेर विपक्षमा ११ मत रहेको छ ।
माओवादी र उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सुदूरपश्चिमको सरकार पुनः धरापमा पर्ने देखिएको छ ।
प्रतिक्रिया