अध्यक्ष रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय

अध्यक्ष रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय



काठमाडौं । अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीले निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको बताइएकाे थियो । जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको छ ।

जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।

निर्वाचन आयोगले समेत उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेकाले हामीले महिलालाई नै उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेकाे नाउपाका नेताहरु बताउछन् ।

यसैबीच, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।