उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम



काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको हो । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम छ ।

उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए । तर आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरेको थियो ।

आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । जसमा शनिबार उम्मेदवारी दिएका चारैजनाको नाम समावेश छ ।

निर्वाचन आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको हाे । निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने जसपाका एक नेताले बताए ।