काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्यूगिनीविरुद्ध ९ विकेटकाे कीर्तिमानी जित हात पारेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.३ ओभरमै लक्ष्य भेट्यो ।
जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।
कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । विकेटको हिसाबमा नेपालले जितेको यो सर्वाधिक ठूलो जित हो । यसअघि २०२० मा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो ।
लिग–२ को अन्तिम शृखंलामा लगातार तीन जितपछि अब नेपाल विश्वकप क्वालिफायरमा पुग्नबाट एक जित मात्र टाढा छ । अब नेपालको लक्ष्य लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्बेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्ने रहेकाे छ । त्यसका लागि नेपालले बिहीबार हुने लिग–२ कै अन्तिम खेलमा युएईलाई हराउनुपर्नेछ ।
प्रतिक्रिया