प्रमिलाले उपराष्ट्रपतिमा रामसहायप्रसादलाई समर्थन गर्ने

प्रमिलाले उपराष्ट्रपतिमा रामसहायप्रसादलाई समर्थन गर्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की नेतृ प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । यादवले एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता भएको जानकारी गराएकी हुन् ।

साथै उनले उपराष्ट्रपतिमा जसपाकै उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने बताएकी छन् । रामसहाय सालिन र निष्कलंक नेता भएको भन्दै उनले रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरेको बताएकी छन् ।

‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

‘अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिको निर्वाच फागुन २५ मै सम्पन्न भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ ।