काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले काँग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । सोमबार वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्दै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काँग्रेसमा सहभागी हुने तयारी भइरहेको बताए । ‘कुन–कुन मन्त्रालय लिने र क–कसलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरूसँग छलफल भइरहेको छ’, उनले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिने बित्तिकै हामी सरकारमा जान्छौँ ।’
नेपाली काँग्रेसले ९ वा १० मन्त्रालय लिएर सरकारमा जाने करिब–करिब सहमति भएको उनको भनाइ थियो । ‘कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन’, सांसद रिजालले भने, ‘पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।’
समाचारस्रोतका अनुसार कांग्रेसबाट पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, शंशाक कोइराला अथवा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको इच्छा चाहिँ निधिलाई सरकारको नेतृत्व दिने बुझिएको छ । उनलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा निर्माण यातायात मन्त्रालयको जिम्मा दिने बुझिएको छ । भौतिक पूर्वाधार मन्त्रालयको अनुभवसमेत लिइसकेका निधिलाई पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले साथ दिनेछन् । डा. महतलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
कोसी प्रदेशबाट शेखर कोइराला, सीता गुरुङ, सरिता प्रसाईं र रामहरि खतिवडामध्येबाट दुईजना, मधेशबाट निधि, तेजुलाल चौधरी र रमेश रिजालमध्येबाट दुईजना, बागमतिबाट डा. महत, राजन केसी र मोहन बस्नेतमध्येबाट दुईजना, गण्डकीबाट शंशाक कोइराला, जीवन परियार, लुम्बिनीबाट सुरेन्द्र आचार्य र सुदूरपश्चिमबाट बद्री पाण्डे, एनपी साउद र बीरबहादुर बलायरमध्येबाट एकजनालाई मन्त्री बनाइने बताएको छ ।


प्रतिक्रिया