कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज, तीनको नतिजा सार्वजनिक

कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज, तीनको नतिजा सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आज सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे । मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, काेइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र काेइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र काेइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, काेइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

तीनको नतिजा सार्वजनिक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन् । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन ।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । जम्मा ४६८१ मत खसेकोमा आङ्देङ्वेले २७११ मत ल्याए । लामाले १९१३ मत पाए ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन् । उनले सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरे । परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए ।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज शुक्रबार हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।