काठमाडौं । विदेशी नागरिकको रकम ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सो आदेश दिएको हो ।
शाहसहित २० जनाविरुद्ध ठगी सार्वजनिक लिखत किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको छ । पक्राउ परेकाहरूलाई सोमबार थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जानकारी दिएकाे छ । शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र एकलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ ।
अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।
फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।
अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।


प्रतिक्रिया