काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर सशस्त्र द्वन्द्वको धम्की दिएको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल र मानवअधिकार एलायन्सले आयोजना गरेको मानवअधिकार रक्षक तथा सामाजिक अभियान्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
‘एकातिर सत्ता रहने, अर्कोतिर द्वन्द्वको धम्की दिने,’ ओलीले भने– ‘हाम्रो खुकुरीमा खिया लागेका छैनन्, हाम्रा बन्दुकका कार्तुस ओसिएका छैनन् भन्छन् । हाम्रा पाखुरा ट्रिगर थिच्न नसक्ने भएका छैनन् भन्छन् । हामीलाई धम्क्याउँछन् । थर्काउँछन् । त्यसैले हाम्रो मानवअधिकार एलायन्स दह्रो हुनुपर्छ ।’
केही दिनअघि जनयुद्दका सहदि तथा बेपत्ता सन्तती फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री र पूर्व माओवादीहरुले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएकोले अन्तराष्ट्रिय कानुन र मानवअधिकारका प्रावधानहरुको पालना गर्नुपर्ने बताए ।
त्यसैगरी, ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताए । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनको भनाइ थियो ।
‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन ।’
फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् ।


प्रतिक्रिया