यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप

यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप



काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ । 

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन् । 

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यानको थियो । 

सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो ।

आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन दिँदै दुर्घटनाको १४ सेकेण्ड अगाडि पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमाण्ड लिएको उल्लेख गरेको थियो । जाँच आयोगले काम सक्न बाँकी रहेकाले म्याद थप गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।