काठमाडाैं । आज नेपालले यूएईलाई हराउदै एकदिवसीय क्रिकेट विश्वकप ग्लोबल छनोटमा पुगेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएको हो । ३ सय ११ रनको किर्तिमानी विजयी लक्ष्य पाएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाएपछि खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप ग्लोबल छनोटमा पुगेको हो । नेपालले लिग-२ मा ३६ खेलबाट ४० अंकका साथ शिर्ष ३ मा रहदै छनाेट भएको हो ।
आजकाे जितसँगै नेपाल आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप ग्लोबल छनोटका लागि खेल्न जाने भएको छ । विश्वकप छनोट खेल्न जिम्बावेमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग-२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल भन्दा अंक तालिकामा तल रहेका युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । प्लेअफमा शीर्ष दुईमा पर्न सक्ने टिम पुन : विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ काे अंक तालिका
प्रतिक्रिया