उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक, राप्रपाले भाग नलिने

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक, राप्रपाले भाग नलिने


ग्लोब नेपाल
216
Shares

काठमाडौँ। उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बोलाएको छ । शुक्रबार बिहान साँढे ११ बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक तय गरिएको हो । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् । उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ ।

उपराष्ट्रपति निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी ४ जना उम्मेदवार छन् ।

राप्रपाले भाग नलिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ । राप्रपाले यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेको थिएन ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेश सभा सदस्य मतदाता छन् ।

शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार जना उम्मेदवार छन् ।