उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

३० हजार ३२८ मतभार प्राप्त



काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे । पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।

उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

त्यसपछि उनी मधेसी जनअधिकार फोरमको संस्थापक रही त्यसको सुरूवातदेखि महासचिवसमेत बने । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन् ।