प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले भाेली (आइतबार) अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने स्रोतको भनाइ छ।

संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

हिजो शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।