प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर

प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : महानिरीक्षक कुँवर



काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले प्रहरीमा सुधार आवश्यक भएको बताएका छन् ।

आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन् । उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने बताएका हुन् । प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता भएको बताएका छन् । ‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ कुँवरले भने ।

‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरुलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए ।

अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने उनले बताए ।