मिटरब्याज पीडितहरुको समस्या कार्यदल बनाएर समाधान गर्नु पर्छ : सीके राउत

मिटरब्याज पीडितहरुको समस्या कार्यदल बनाएर समाधान गर्नु पर्छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् ।

महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । राउत सोमबार ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका हुन् । भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।

राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको बताए । तर अहिले पनि समस्या रहेको भन्दै उनले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताए । ‘कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ । कतिपय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सकिन्छ’, उनले भने, ‘यसबारे हामी सरकारसँग कुरा गरिरहेका छौं ।’ यदि सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने राउतले बताए ।

सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्ने बताएका छन् ।