सरकारले मिटरब्याज पीडितमाथि धोकाधडी गर्‍याे : सांसद गैरे

सरकारले मिटरब्याज पीडितमाथि धोकाधडी गर्‍याे : सांसद गैरे



काठमाडौं । एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आइतबार शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरे ।

‘मिटरब्याजीबाट पीडित नागरिकहरुमाथि फेरि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ । र, तत्काल पीडकहरुले कारबाही पाउनु पर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

त्यस अवसरमा सांसद गैरेले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।