सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनता हो : रघुजी पन्त

सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनता हो : रघुजी पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नसकेकोप्रति आलोचना गरेका छन् । उनले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’

उनले भने, ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन । एउटासँग बिहे गर्यो, अर्कोसँग पोइला गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए । ‘यो सरकारको आलोचना गर्दा कोही पनि तात्तिनु पर्दैन । सय दिनसम्म सरकारलाई पूर्णता दिन नसक्नेले फुर्ति गरेर हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? अस्पतालमा कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले ३७ बुँदे उपलब्धि सार्वजनिक गरेका रहेछ । त्यसमा म एउटा अर्को एउटा बुँदा थप्न सुझाव दिन्छु यो बीचमा कति बच्चा जन्मे, कति पानी पर्यो, कति घाम लाग्यो त्यो लेख्न छुटेछ । तर, सरकारको ३७ बुँदे उपलब्धि पढ्दा त्यो के पढ्या भन्ने नै बुझिँदैन ।’

कोही व्यक्ति कति पटक प्रधनमन्त्री भयो भन्ने उल्लेखनीय नहुने भन्दै उनले के काम गर्‍यो भन्ने महत्वपूर्ण हुने बताए ।

मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई आफ्नो कामका कारण सम्झिइरहने नाम भएको भन्दै सांसद पन्तले भने ‘आजका प्रधानमन्त्री उभिएर बोल्न सक्दैनन्, तिनीहरुको अनुहारमा दागैदाग छ ।’