तीन कम्पनीकाे एजीएम आज, लाभांश वितरण प्रस्ताव पेश गर्दै

तीन कम्पनीकाे एजीएम आज, लाभांश वितरण प्रस्ताव पेश गर्दै



हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । बोनस सेयर वितरण पश्चात पुँजी बढ्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ । 

कालिका लघुवित्त सभामा कालिका लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांशसहित कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीको दुई आर्थिक वर्षको ५औं र ६औं वार्षिक सभा एकैपटक बस्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । यस्तै, सभामा लेखा परीक्षकको नियुक्त गर्ने एजेन्डा र निजको पारिश्रमिक निर्धारण गर्ने छ । यसैगरी, ९६ लाख कित्ता आइपीओ सन् नेपाल लाइफ इन्स्याेरेन्सले प्रिमियममा बिक्री खुला गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम जोडेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन भएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ हुनेछ ।