जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न बालेन शाहलाई मन्त्री रेखाको सुझाव

जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न बालेन शाहलाई मन्त्री रेखाको सुझाव



काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । 

गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् । 

संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु नहुने बताइन् ।  आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताइन् । 

काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।