बाल्टिमोरमा नेपाली साहित्यको चर्चा (फोटो फिचरसहित)

बाल्टिमोरमा नेपाली साहित्यको चर्चा (फोटो फिचरसहित)

अनेसास च्याप्टरको नयाँ नेतृत्वको पदस्थापन


ग्लोब नेपाल
3.3k
Shares

बाल्टिमोर । नेपाली भाषा र साहित्यलाई अमेरिकी भूमिमा थप विस्तार गर्नुपर्ने विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन्। यसका लागि अमेरिकी विश्वविद्यालय मातहतका एसियन अध्ययन केन्द्रमा नेपाली भाषालाई समेट्नुपर्ने उनीहरुको भनाई रहेको छ। साथै उनीहरुले नेपाली साहित्यको विविध विधामा भावी पुस्तालाई समेत आकर्षित गर्दै अपनत्व भाव सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका छन्।

आइतवार यहाँ आयोजित एक साहित्यिक कार्यक्रमका सहभागी वक्ताहरुले नेपाली भाषा,साहित्यको बारेमा बोल्दै यस्तो विषयमा जोड दिएका हुन्। अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरले नयाँ वर्ष २०८० को अवसर पारेर आयोजना गरेको शुभकामना एवं च्याप्टरको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रममा सहभागी लेखक एवं सर्जकहरुले अन्तर्राष्ट्रीय स्तरमा नेपाली भाषाको थप प्रवर्द्धनका लागि उत्कृष्ठ कृतिको सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।

कार्यक्रमका प्रमूख अतिथि मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डाक्टर ह्यारी भण्डारीले दशकौंसम्म नेपाली भाषाको जगेर्ना गर्नको लागि उत्कृष्ठ कृतिहरु सृजना गरेर वा भएका कृतिहरुको अनुवाद गरेर जानुपर्ने धारणा व्यक्त गरे । भावी पिंढीको लागि उपयोगी हुने र उनीहरुको रुचिलाई ध्यानमा राखेर साहित्य सृजना गरिनुपर्ने च्याप्टरका संस्थापक अध्यक्ष समेत रहेका डेलिगेट भण्डारीको भनाई थियो। अमेरिकाका विभिन्न विश्व विद्यालयमा एसियन भाषा अध्ययन हुने र त्यहाँ नेपाली भाषालाई समेत जोड्न सबैले पहल गर्नुपर्ने अमेरिकाको राज्य संसदमा निर्वाचित पहिलो नेपाली मूलका युवा विधायक भण्डारीले जोड दिए।

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा,समाजका केन्द्री अध्यक्ष गोबर्धन पूजा, समाजका संस्थापक मध्येका भीम रेग्मी र पुरु सुबेदीलगायतले नेपाली साहित्य र समाजका गतिविधि बारे चर्चा गरेका थिए। नेपाली साहित्य आकाशकी मूर्धन्य साहित्यकार पारिजातको ८० स्मृति दिवसका अवसरलाई समेत जोडेर आयोजना गरिएको यो कार्यक्रममा सहभागी हुन समाजका बोर्ड अफ ट्रष्टीका अध्यक्ष विश्वकर्मा कोलोराडो र समाजका केन्द्रीय अध्यक्ष पूजा बोष्टनदेखि आएका थिए। सहभागी वक्ताहरुले मेरिल्याण्ड च्याप्टरले गरेका गतिविधिको सह्राहना समेत गरे।

च्याप्टरका अध्यक्ष भारत बराइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेरिल्याण्डको राज्य संसदको दुवै सदनबाट हालै पारित दशैं बिधेयकका बारे समेत सहभागीहरुले चर्चा गरेका थिए। हरेक वर्षको अक्टुबर ५ तारिखलाई दशैं दिवस मान्ने गरी मेरिल्याण्ड राज्य संसदका विधायक डाक्टर ह्यारी भण्डारीको अनवरत पहलले यो विधेयक पारित भएको छ। अब गभर्नरले अनुमोदन गरेपछि यसले औपचारिक रुपमा कानुनी मान्यता पाउँछ। यसका लागि विधायक डाक्टर भण्डारीको सबैले सम्मान गरेका थिए। सम्भवत: देशबाहिर दशैं दिवस भनेर कानुन बन्न लागेको मेरिल्याण्ड नै पहिलो राज्य संसद हुनेछ।

साहित्यकार स्वर्गीय पारिजातको ८० औं स्मृति दिवस समेत उहाँको तस्वीरमा माल्यार्पणपछि ‘सुश्री पारिजात’ का लेखक साहित्यकार गोविन्द गिरी प्रेरणाले पारिजातको योगदानका बारे संक्षिप्त प्रकाश पारेका थिए भने ‘सुश्री पारिजात’ कृतिमाथि अनेसास वोर्ड अफ ट्रष्टीका उपाध्यक्षसमेत रहेका च्य्पात्र्का पूर्व अध्यक्ष साहित्यकार तीर्थ पाण्डेयले समालोचनात्मक टिप्पणी गरेका थिए ।

च्याप्टर महासचिव मधुकर अधिकारीले संचान गरेको कार्यक्रममा च्याप्टरका संस्थापक महासचिव गौतम दाहालले च्याप्टर स्थापनाको पृष्ठभूमिसहित स्वागत गरेका थिए। कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डाक्टर श्याम कार्की,मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक उत्तम गौलीलगायतले बोलेका थिए।

नयाँ कार्य समितिलाई पदभार हस्तान्तरण

कार्यक्रममा च्याप्टरको नयाँ कार्य समितिको पदस्थापन र विभिन्न सर्जकले आ आफ्नो सिर्जना समेत वाचन गरेका थिए। च्याप्टरका अध्यक्ष बराइलीले नव निर्वाचित अध्यक्ष नायिका पूजा चन्दलाई अध्यक्षको कार्यभार हस्तान्तरण गरेका थिए। तत्पश्चात नव निर्वाचित अध्यक्ष चन्दले कार्यभार ग्रहण गरेसंगै कार्य समितिका सबै पदाधिकारी, सदस्य र सलाहकारसमितिको समेत परिचय गराइएको थियो। जस अनुसार च्याप्टरको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला,कोषाध्यक्षमा सन्दिप कोइराला र सदस्यहरुमा मोज शाही, भावना विष्ट,भीमविक्रम शाही र सविता अधिकारी रहेका छन् भने निवर्तमान अध्यक्ष बराइली समितिको पदेन सदस्य रहेका छन्। यसैगरी च्याप्टरको सल्लाहकारहरुमा डाक्टर श्याम कार्की, गौतम दाहाल, तीर्थ पाण्डे, पारस श्रेष्ठ,अर्जुन हमाल र डाक्टर उत्तम गौली रहेका छन्।