सबै एनआरएनएलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ: डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए

सबै एनआरएनएलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ: डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए


ग्लोब नेपाल
162
Shares

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सबै गैरआवासीय नेपालीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा शर्माले मध्यपूर्वमा मात्रै नभई यूरोपका विभिन्न देशमा श्रम स्वीकृतिबिनै गएका नेपाली श्रमिकहरुको संख्या बढ्दो क्रममा रहेको स्मरण गराउँदै श्रम स्वीकृतिबिनै गएका श्रमिकको हकमा योजनाले के गर्छ ? भन्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

एनआरएनको संयन्त्रले मात्रै उक्त योजना लागू गर्न कठिन हुने भएकोले नेपाल सरकारको सम्पूर्ण संयन्त्रले काम गर्नुपर्ने उहाँको धारणा थियो । श्रमिक सबैलाई योजनाबारे बुझाउन ढिलाई गर्नु नहुने उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकोमा आभार व्यक्त गर्नुभयो । योजनाको सफलताका लागि सामाजिक सुरक्षा कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । योजना सुरुवात हुनु सकारात्मक भएपनि त्यसमा परिमार्जन आवश्यक भएको उहाँको भनाई थियो । सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताउनुभयो ।

यस्तै, एनआरएनएका अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरुलाई योजनामा जोड्न देशै पिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्ने बताउनुभयो ।

संघका उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका सबै श्रमिक प्रविधिमैत्री वातावरणमा नभएको भन्दै गन्तव्य मुलुकमै पुगेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । श्रमिकहरु माझमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिमा कतिपय विषय स्पष्ट नभएको भन्दै शर्माले प्रष्ट व्याख्या गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, शर्माले कोषमा आबद्ध हुन श्रमिकहरुलाई विशेष आग्रह गर्नुभयो । रेमिट्यान्स, पोर्टफोलियो व्यवस्थापन लगायतका विषयमा पनि विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने प्रावधान ल्याएसँगै बहुसंख्यक श्रमिकलाई उक्त योजनामा समेट्न अभिमुखीकरण कार्यक्रम अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

संघका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले लाखौँ नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोषले सुरु गरेको योजनालाई गैरआवसीय नेपालीले प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाउनुभयो । असहाय अशक्त हुँदा र मृत्युपर्यन्त पनि यस योजनाले प्रतिफल दिने भन्दै क्षेत्रीले यस योजनामार्फत श्रमिकहरुलाई समेट्नु सरकारको सकारात्मक कदम भएको र त्यसमा एनआरएनको सहकार्य रहको उहाँको भनाई थियो ।

कार्यक्रममा सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामुलक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उक्त योजना भर्खरै सुरुवात भएकोले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । सरकारको काम नीतिगत रुपमा हुने भएकाले एनआरएनले प्रत्यक्ष रुपमा श्रमिकसँग जोडिन सरकारसँग सहकार्य गर्न सक्ने भएकाले मिलेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

श्रमस्वीकृति लिएका वा नलिएका सबैलाई नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने मन्त्री भण्डारीले बताउनुभयो । त्यसका लागि एनआरएनसँगको सहकार्य महत्वपूर्ण हुने उहाँको भनाई थियो । श्रमिकको सुरक्षा र उनीहरुको श्रमको सम्मानका लागि पनि सरकारले सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्ने उहाँले बताउनुभयो । योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी रहेको मन्त्री भण्डारीले बताउनुभयो । पूँजी, प्रविधि र ज्ञान भित्र्याउन मन्त्रालय सकारात्मक रहेको उहाँको भण्डारीको भनाई थियो ।

कार्यक्रममा कोषका अध्यक्ष कपिलमणी ज्ञवालीले सुरक्षा कोषको फाइदाबारे प्रष्ट पार्नुभयो । अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टर, सहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता लगायतका नीतिगत र सरकारी प्रक्रियागत कामहरु सुरु भएको बताउनुभयो । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उहाँको भनाई थियो । आगामी दिनमा गन्तव्य मुलुकमा एनआरएनएकै सञ्जाल प्रयोग गरेर बृहत् रुपमा योजना अघि बढाउने र त्यसमा सरकारले हातेमालो गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कोषले तयार पारेको विशेष प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न देशबाट नेपाली श्रमिक तथा अन्य गैरआवासीय अभियन्ताहरु जोडिएका थिए ।