पोखरा । अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ ।
प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार)लाई नै डाकिएको छ । सोही दिनको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका छन् ।
पत्रमा लेखिएको छ, “…संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावल, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।”
गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।
गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गण्डकीमा २७ सांसदसहित प्रदेश सभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसबाट दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
प्रतिक्रिया