केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने प्रचण्डको घोषणा

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने प्रचण्डको घोषणा


ग्लोब नेपाल
459
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन् ।

केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपा पुनर्जीवित गर्ने योजना बनाएकाे उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेकपालाई पुनर्जीवित गर्दा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताए । उनले नेताहरूको सनकका भरमा त्यो एकता टिक्न नसकेको टिप्पणी गरे । अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने उनले बताए ।

नेकपालाई पुनःस्थापित गर्नका लागि बिनापूर्वाग्रह छलफल गर्नुपर्नेमा उनले जोड दिए । अहिले मुलुकमा अराजकता सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले त्यसलाई रोक्न कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्ने बताए ।

प्रचण्डको भनाइ :

फेरि पनि कम्युनिस्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो भन्ने होइन । फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्दछ । हामी त्यही प्रक्रियामा छौँ । जो कम्युनिस्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरू अहिले पनि कम्युनिस्ट पार्टी एकताको पक्षमा छैनन् ।

हामी कम्युनिस्ट पार्टी एकताको पक्षमा छौँ । राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा हामी छौँ । अहिले कमरेड माधवकुमार नेपाललगायत हामी थुप्रै नेताहरूसँग अहिले जे छलफल भइरहेको छ, हामी भनिराखेका छौँ– नेकपातिर नै फर्कनुपर्दछ । कम्युनिस्ट पार्टीभित्र नेतृत्वलाई भन्ने के गरिन्छ भने कि हो, नेतृत्व भनेको चाबी हो भन्ने गरिन्छ । र, हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्‍यो भने धेरै ठूलो क्षति हुन्छ । र, ठूलो प्रतिक्रान्ति हुन्छ । त्यो हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र क्रान्तिमा पनि देख्यौँ । हामीले आफ्नै आँखाअगाडि पनि देख्यौँ, ०७४ को निर्वाचन । एउटा ठूलो अग्रगामी कदम थियो, कम्युनिस्टहरूले चालेको । त्यो प्रस्ताव गर्ने हामी नै थियौँ । मैले धेरैचोटि भनेको छु– त्यसको पहिलो प्रस्ताव औपचारिक रूपमा मैले नै राखेको थिएँ– एकता गरौँ, चुनाव मिलेर लडौँ । र, कम्युनिस्ट पार्टीलाई पनि एकताबद्ध गरौँ । देश र जनताले त्यही खोजेको छ । राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकताको निम्ति पनि कम्युनिस्टहरू एक हुन जरुरी छ ।

जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिस्टहरू एक हुन जरुरी छ । र, लोकतन्त्रको सुदृढीकरणका निम्ति, गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिस्टहरू एक हुन जरुरी छ । यो ऐतिहासिक आवश्यकता हो । हामीले त्यो पहलकदमी लियांँ भने असाधारण र महान् काम हुनेछ भनेर नै सो प्रस्ताव गरिएको थियो । र, म अहिले फेरि, आज नेपाल कम्युनिस्ट पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा अहिले पनि यो देशको एकता र सुदृढीकरणको निम्ति हामी एक हुन जरुरी छ । आउनुहोस्, बसौँ सँगै । बिनाआग्रह, पूर्वाग्रह समीक्षा गरौँ । विचार धारात्मक रूपमा समीक्षा गरौँ । आत्मसमीक्षा गरौँ । र, राष्ट्रको हितमा एकताको एउटा नयाँ पहल सुरु गरौँ । त्यसो गरेर मात्रै हामी कम्युनिस्ट आन्दोलनप्रति इमानदार हुन सक्नेछौँ । हामी अहिले केही कम्युनिस्ट पार्टीहरू कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ ।

अघि माधवजीले पनि राख्नुभयो । मलाई लाग्छ, अरू साथीहरूले पनि राख्नुहोला । हामीले पहिलाजस्तो तरिकाले सुरु गरौँ वा अलि नयाँ तरिकाले सुरु गरौँ । पहिलाचाहिँ अहिलेको राष्ट्रको आवश्यकतालाई राष्ट्रियता, जनतन्त्र, जनजीविका, विकासको आवश्यकता, दलाल पुँजीवादको विरुद्ध संघर्षको आवश्यकता महसुस गर्नेहरू सबै एउटा मोर्चामा आबद्ध होऊँ । र, त्यो मोर्चाबाट एउटा सन्देश दिऊँ– भविष्य उज्ज्वल छ । हामी फेरि एकताबद्ध हुनसक्छौँ भन्ने सन्देश दिऊँ । छलफलको क्रम त्यहीँबाट सुरु गरौँ । विचारधारा, राजनीतिक छलफल गरौँ । अनि फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने एउटा नयाँ संकल्प गरौँ भन्नेमा हामी छौँ । र, म के घोषणा गर्न सक्छु भने, केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ । र, त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ धुव्रीकरणतिर जानेछौँ । र, त्यो मोर्चाले नेकपातिर फर्कनका लागि सबैसबैलाई अपिल गर्नेछ । किनकि, त्यो नेकपा नेताहरूको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम लाखौँ कार्यकर्ताहरूले अनुमोदन गरेको एकता हो । त्यो एकता हामीद्वारा प्रस्तावित एकता हो ।

त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ । त्यसकारण हामी कोही आग्रहमा नजाऊँ, पूर्वाग्रहमा नजाऊँ । देशको आवश्यकतालाई हेरांँ । जनताको चाहनालाई हेरौँ । अहिले विचार, राजनीति, मूल्य–मान्यताभन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने जो कोसिस भइराखेको छ, हजारौँको बलिदान र दशकौँको संघर्षबाट नेपाली जनताले उपलब्धिहरूमाथि प्रहार गर्ने जो दुस्साहस भएको छ, त्यसको प्रतिकार गर्ने पनि वामपन्थी, कम्युनिस्ट देशभक्त शक्तिहरूले नै त्यसको प्रतिकार गर्नुपर्नेछ ।