अर्थतन्त्रको संकुचन देखाएर बजेट नघटाउनु : पूर्वअर्थमन्त्री शर्मा

अर्थतन्त्रको संकुचन देखाएर बजेट नघटाउनु : पूर्वअर्थमन्त्री शर्मा



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको संकुचन देखाएर आगामी वर्षको बजेट घटाउन उपयुक्त नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उनले आउँदो आर्थिक वर्षको बजेट नियन्त्रित हुनुपर्नेमा जोड दिए ।

छलफलमा बोल्दै उनले केही क्षेत्रको खर्च कटौती गर्नुपर्ने र मन्त्रालयहरूको पुँजीगत खर्च १० प्रतिशतले कटौती गर्ने योजनालाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले स्रोत व्यवस्थापनका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिए ।

“अर्थतन्त्रको संकुचन देखाएर बजेट घटाए अर्थतन्त्र थप संकुचनमा जान्छ । स्रोत व्यवस्थापनका लागि निजी क्षेत्रलाई प्रोत्सोहान गर्नुपर्छ,” उनले भने ।

शर्माले उत्पादन बृद्धि नभइकन आर्थिक सूचक नसप्रिने बताए ।

“मुख्य कुरा उत्पादन बृद्धि र रोजगारी सृष्टि भन्ने नारामा आधारित रहेर बजेट बनाउनुस् । त्यसले कृषि, औधोगिक, शैक्षिक, स्वास्थ्यसँगै अन्य क्षेत्रहरूको प्रवर्द्धन सम्भव छ । र, वर्तमान समयमा अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सकिन्छ,” शर्माले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसदसमेत रहेका उनले प्रदेशले पाउने अधिकार नपाएको निजामति ऐन तथा प्रहरी ऐन नबनेको भन्दै यी कानुन बनाएर संघीयता कार्यान्वयनमा जोड दिए । यस्तै स्थानीय पालिकाहरुलाई उत्पादन बढाउने र रोजगारी सिर्जना गर्न सहन हुने बजेटको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

अहिले विकासमा प्रादेशिक सन्तुलन गर्नुपर्नेमा पनि उनको जोड छ । “मधेस सुदूरपश्चिम प्रदेशमा भएका समस्या अन्त्य गर्न आम नीति योजनाले पुग्दैन । यसका लागि छुट्टै स्रोतको व्यवस्थापन गर्नुपर्छ,” उनले भने ।

सांसद शर्माले डिजिटल प्रविधि र शिपयुक्त जनशक्ति उत्पादनमा अहिले ध्यान दिनुपर्नेमा जोड दिँदै कमाउँदै पढ्दै कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए ।