यो बर्षको जैबिक बिबिधता दिवसको पूर्ब सन्ध्यामा ७ दिन १४०० कि.मि. सडक यात्रा गरेर जैबिक बिबिधताको अवलोकन, अध्ययन सर्बेक्षण गर्ने जमर्को गरियो । ७ दिनमा जे देखियो भोगियो, त्यसलाई लिपिबद्ध गरेर महत्वपूर्ण दिवस सार्थकताको लागि शुभकामना दिन यो आलेख तयार पारेको छु ।
सिन्धुलीगढीमा उभिएर हेर्दा वारपार हरियो देखेर हर्षबिभोर भएँ । सामुदायिक बन संरक्षणमा बिश्वमा नाम कमाएको मुलुक भनेर गौरव महशुस गरें । बनजंगलको बाटो उकालो छिचोलेर हजारौं स्थानीयबासीहरु दस्तुर तिरेर गढीको अवलोकन गर्न आएको देखेर लाग्यो– “राष्ट्रियता जागेछ, राष्ट्रभाव उठिरहेको छ, राष्ट्रको मायाले समुदायलाई ओतप्रोत र राष्ट्रभक्त बनाएछ ।” बृद्धबृद्धा हुन् वा वालवालिकाहरु, गौरवशाली गढीमा गीत र नृत्यमा भुलिरहेका थिए । टिक्टक् बनाउन मस्त थिए ।
सिन्धुलीगढीबाट उत्तरतर्फ फर्केर हेर्दा वारपार लमतन्न सेतो हिमालले सुरक्षा छाता ओढाईरहेको भान हुन्थ्यो । धर्ती चिस्याउने सिंचाउने कलकल स्वच्छ पवित्र पानीका नदीहरु हिमालबाट हाम फालिरहेका थिए ।
सिन्धुली भिमानबाट कटारी – गाईघाट – चतरा नयाँ सडकबाट गुड्दा प्रकृतिको हरियो सुन्दर काखमा पुगेको गौरव अनुभूत भयो । मित्रहरु युरोपको याद आयो भनिरहेका थिए ।
पुरानो कर्मक्षेत्र ईटहरी ब्यारेक पुग्दा अर्को सक्कली स्वर्गमा पुगेको जस्तो भयो । असंख्य पंक्षीहरु । रुखभरि । आकास भरि । भुँई भरि । मिलिजुली रमाएर एउटै रुखमा धेरै प्रजाति बसेको देखेर लाग्यो त्यो ब्यारेक परिसर हामी स्वार्थी मान्छेलाई सहअस्तित्वको पाठ सिकाउने प्राकृतिक सजीब पाठशाला हो । त्यही ब्यारेकभित्र लस्करै पोखरीमा कति धेरै प्रजातिका कमलका फुलहरु र सिमसार पंक्षी, जीव, पुतलीहरु ? मलाई सकरात्मक हुटहुटी चल्यो – किन त्यो सुन्दर शान्त परिसरलाई “बर्ड स्यान्चुरी” घोषणा नगर्ने ? बर्ड कन्जर्भेसन नेपाल (बिसिएन) ले पहलकदमी लिदिए हुने थियो लाग्यो । किनभने मैले जीवनमा एउटा सानो ईलाकामा त्यती धरै पंक्षीहरुको घनत्व संसारमा कहीं देखेको छैन । अझ गर्वको कुरा पंक्षीहरु खुशी थिए । संरक्षकको हैसियतले मैले बिसिएनलाई तताउने निधो गरें ।
बिहान सबेरै गल्फ खेल्न धरान प्रश्थान गरें । त्यहाँ पंक्षीहरु जोडदारसँग गीत संगीत भरिरहेका थिए । कोही हावामा ब्रेकडान्स गरिरहेका थिए । मैले खेल त्याग गरेर पंक्षीहरुको फोटो कैद गर्न लागें ।
अघिल्लो दिन साँझ मुलसधारे पानी परेपछि त्यो दिन बिहान छिछिरमिरा किराहरु आकासभरि उडिरहेका थिए । पंक्षीहरुको सिकार सत्र पल्टिएको थियो । त्यो हावामा पंक्षीको कलात्मक नृत्य जस्तो देखिएको रहेछ । बादरहरु उफ्रेर यी किराहरु समाउदै खादै गरेको पहिलोपटक देखें । बादरलाई मैले शुद्ध शाहाकारी मानेको थिएँ । म गलत रहेछु । अझ जंगलमा लटरम्म फुलेको फलेको र मगमग वासना आईरहेको दुर्लभ क्याननबल रुख देखेपछि अर्को आश्यर्च लाग्यो । तस्बिर र अध्ययनमा आधा घण्टा बित्यो ।
गल्फ कोर्समा धनेस चरोको दर्शन पाएपछि मैले आफूलाई भाग्यमानी ठानें । बाघ देखे बराबर खुशी लाग्यो । अरु धेरै दुर्लभ सुन्दर पंक्षीहरु नजर आईरहे । जंगली फुलहरुमा मौरी र पुतलीहरुको रस्साकस्सी भोजभतेर थियो ।
३६३ प्रजातिका सुनगाभा र सुनाखरी मध्ये केही त्यहीं रुखहरुमा लड्किरहेका थिए । ६५३ जातका पुतली मध्ये केही त्यहीं रमाईरहेको लाग्दथ्यो । ३९६६ प्रजातिका रातमा उड्ने पुतली मध्ये कति रातभरि त्यहीं थिए होलान् । ५०० बढी प्रजातिका किराफट्याङ्ग्रा, २०० बढी प्रजातिका माकुरा, १४७ बढी प्रजातिका झ्याउ, १८२२ प्रजातिका ढुसी, ३८३ बढी प्रजातिका उन्युहरु, ६०० बढी फुल फुल्ने बनस्पति सबै त्यहीं चारकोसे झाडीको अबशेषमा भएको भान भयो । म जंगलमा मनमुग्ध भएर हराएँ ।
३० भन्दा बढी प्रजातिका गुराँस पाउने तीनजुरे मिल्के जलजलेको याद आयो । जहाँ म ७ बर्ष अगाडि हाइकिङ्ग गरेर पुगिरहन्थे । ती मध्ये केही प्रजातिको गुराँस बन आफ्नै पुरानो बाहिनी हाता हिलेमा थियो । दर्जनौं थप प्रजाति आफैंले बृक्षारोपण गरेको थिएँ ।
यी पंक्ति त्रिशुली किनार धादिङ्गमा बसेर लेख्दै छु । यहाँ पंक्षीको गीत संगीत छुट्टै छ ।
यहाँभन्दा के दिनु मातृभूमिलाई प्रकृतिले ? छप्पड् मारेर कति धेरै दिएको प्राकृतिक श्रोत साधन । जैबिक बिबिधताको खानी । बिछट्टै धेरै गर्व बोध भयो ।
निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रको माला लगाएकी मातृभूमिको चुरे र मध्य पहाडी भाग हरियो बन जंगलले सिंगारिएको थियो । सामुदायिक बनको कमाल । समुदायको माया रेखदेख र त्यागको कमाल । निकुञ्ज आरक्षको गर्विलो संरक्षण रेकर्डले मातृभूमिको उच्च छवि भएको सगौरव स्मरण गरें ।
निराशाको पाटो
रोशी खोला हुँदै तामाकोशी, भोटेकोशी, सुनकोशी, दुधकोशी, सप्तकोशी, कमला र त्रिशुलीको यात्रामा नदी उत्खनन र दोहन हेरिसक्नु थिएन । बडेमानका मेसिनहरुले नदीहरुलाई ओल्टाई पल्टाई बलत्कार गरिरहेको जस्तो ।
भकुण्डबेसीदेखि मुलकोटसम्म यी राक्षसजस्ता मेसिनहरुले सुन्दर पहाडहरुका नलीखुट्टा, घुँडा, कट्टी, काटिरहेका थिए । तानिरहेका थिए । राम्रो सडक समुदायलाई बरदान, तर अवोध नदीनाला पहाडलाई काल । कसरी अडिनु र दरो उभिनु ती पहाडहरु ?
कहिले बौरिनु कमला नदीको बगर ? कहिले कसरी उठ्नु रातभरि टकटकाएको र चोरिएको चुरे पहाड ? राष्ट्रपति चुरे कार्यक्रमले ११ अर्व बजेट खर्च गरिसक्यो । तर खर्वौ बराबरको चुरे बिनास र बिक्री भईसक्यो । उल्टो काम ।
एउटा महामारी टरेको मानौं रे । खाद्य प्रदुषण, पानी प्रदुषण, वायु प्रदुषणले ल्याउने अर्को महामारी सन्तान दरसन्ताले कसरी खप्ने टार्ने होला ?
आफ्नो कृषि उत्पादनको प्रायोजित हत्या भएको छ । मन्द बिषादीयुक्त कृषि फसल निर्बाधरुपमा हिमालसम्म पुगेको छ । एक दिन सारा नेपालीलाई सुस्त, नपुंसक, अपाङ्ग बनाएर अस्पतालभरि र घाटभरि थुपार्नलाई ।
यात्रामा तुंवालो धुलो मैलोले दिउसो नजर नआएका डढेलोहरु रातमा नजर आयो । सरिसृप, उभयचर, पंक्षी, किरा फट्याङ्ग्रा, जीबको समूल नष्ट गर्ने पापी डढेलो । मन धुरुधुरु रोयो ।
प्रकृतिले छप्पड् मारेर दिएको अपार जैबिक बिबिधता जोगाउन बनकर्मी, संरक्षणकर्मी, प्रकृति तथा वातावरणबिद्हरु, नेपाली सेना तथा अन्य सुरक्षाकर्मीहरु, समुदाय र आमजनता मरिमेटेर लागेकै छन् । तर को हो त्यो बिनासकारी संधै प्रकृतिलाई उत्खनन, दोहन, अतिक्रमण र बलत्कार गरिरहने ?
युवाहरुले निर्धक्क भएर जवाफ दिए –
बिकृत राजनीति ।
राजनीतिक संरक्षण ।
राजनीतिक डनहरुको सेटिङ्गमा जारी कालो धन्दा ।
राज्यको अस्तब्यस्त कुरुप पुनर्संरचना ।
उनीहरुले गृह मन्त्रालय अपराधको ताजा उदाहरण दिए ।
हो पनि दुईवटा सत्ताले सिन्को भाँचेको छैन । गठबन्धन सरकार भनेकै सिन्को नभाँच्ने र मिललिजुली खाने कमाउने लुट्ने नाजवाफदेही नकचरो सरकार हो । भईरहेको छ त्यस्तै । प्रमाण असरल्ल भुंईभरि छन् । जैबिक बिबिधताको प्राण प्रकृतिले एक थान नेतृत्व नपाएको १ बर्ष हुन लाग्यो । न प्राथमिकता न त महत्व ।
अपबाद बाहेक राजनीतिक नेतृत्व बनलाई काल सिद्ध भएका छन् । बन खाने राक्षस । धेरैलाई लाग्दो हो राजनीतिक नेतृत्व हुनुभन्दा नहुनु उत्तम । तर यहाँ प्रशासकहरुको पनि भर छैन । प्रायः ती पनि लुट्न खान खप्पीस छन् । पूर्व नजीर र प्रमाणले सिद्ध गरेको सत्य ।
सरकारले नीति तथा कार्यक्रममा नदीजन्य पदार्थ उत्खनन गर्ने कुरा ल्याएर जग हसाएको छ । वाताबरण प्रतिकूल नहुने गरी नदीजन्य ढुंगा, गिट्टी, बालुवा, संकलन र बितरण गर्न जारी ४२ नं. को काईते नीतिले क्रसरवाला तस्करहरुलाई चुरे सफा गर्न बाटो खोलिदिने छ । हीराजस्तो जनशक्ति बेच्ने धपाउने सरकारले अब चुरे बेचेर ब्यापार घाटा कम गर्ने बिकल्प देखेको छ ।
राजनीतिले लथालिंग भताभूंग पारेको मातृभूमिमा कति जैबिक बिबिधता हराए, घटे र नष्ट भए त्यसको वैज्ञानिक अध्ययन अनुसन्धान नभएको लामो समय भएको छ । हामीले तीब्र गतिमा भावी सन्ततीको प्रकृतिलाई छत्बिछत् पारिरहेका छौं । अतिक्रमण, चोरी सिकार, उत्खनन दोहन र बिक्री वितरण, डढेलो, बन बिनास, प्रदुषण, बिषादी प्रयोग, मानवकुकृत्य प्राकृतिक अपराध हुन् । ईआईएको औपचारिकता र पूर्वाधार निर्माण प्रकृतिअमैत्री छ । मानव निर्मित बिपद्को उच्च जोखिममा छन् भावी सन्ततीहरु ।
चाँदीको घेरा
जंगी अड्डामा हालै जारी गोष्ठीमा निकुञ्ज आरक्षका प्रोटेक्सन युनिट कमाण्डरहरु प्रकृति संरक्षण गर्न प्रतिबद्ध देखिन्थे । संरक्षण गरिछाड्ने उनीहरुको संकल्प कालो बादलमा चाँदीको घेरा जस्तो उज्वल भबिष्यको संकेत लाग्दथ्यो ।
उदयपुरमा जिल्ला बन कार्यालयले आयोजना गरेको बन्यजन्तु अपराध नियन्त्रण समन्वय गोष्ठीको सन्देश उस्तै सकरात्मक र शक्तिशाली थियो – “हामी बन र बन्यजन्तु अपराध शून्यमा झार्छौं झार्छौं ।” सेना, प्रहरी, प्रशासन, संरक्षणकर्मी, समुदायको त्यो संयुक्त संकल्पले प्रकृतिलाई अनन्तकालसम्म रक्षा कल्याण सम्मान गर्ने रोडम्याप बनाएको भान हुन्थ्यो ।
२ दिन अगाडि बिश्व बन्यजन्तु कोषले ३० औं बार्षिकोत्सव मनाईरहदा प्रकृतिको सुन्दर भविष्यको खाका अघि सारिरहेको थियो । संरक्षणमा समर्पित साझेदार संघ–संस्थाहरुको त्यो प्रतिबद्धता र संकल्पले निःसन्देह प्रकृतिको रक्षा कल्याण सम्मान गरेरै छाड्ने छ ।
जनता सचेत छन् । प्रकृतिको अपनत्व र स्वामित्व लिएर आफ्नो प्रकृति आफै जोगाउन आजका जनता दत्तचित्त देखिन्छन् ।
प्रार्थना
हरित अर्थतन्त्र प्रकृतिको माग हो । हरित् सुशासन बिलम्ब गर्नै नहुने प्रकृति रक्षाको अर्को जादुको छडी हो ।
प्रकृति बेचेर खाने होईन, प्रकृति रक्षा गरेर समृद्धि दिने सरकारको नीति तथा कार्यक्रम आजको आवस्यकता हो । नबोल्ने भावी सन्ततीको जोडदार माग हो । र, अवोध प्रकृतिको प्रार्थना र पुकार हो । सरकारको ध्यान जावस् ।
बन मन्त्री नभएको दुखद् सन्दर्भमा फिल्ड फ्रन्टलाईन स्टाफहरुले झन् उच्च हौसला र मनोबलकासाथ शक्तिसाली भएर डटेर काम गरुन् ।
गैंडा दोब्बर, बाघ तेब्बरको उपलब्धिले संरक्षण क्षेत्र दोब्बर तेब्बर माग गर्दछ । “संरक्षण क्षेत्र ३० प्रतिशत पु¥याउने राष्ट्रिय संकल्प साकार पार्न सरकारको ध्यान जावस् । संरक्षण सक्रियता र जबाफदेहीतालाई दोब्बर तेब्बर बढाउ” भन्ने प्राकृतिक सन्देशलाई नेपाली सेना, नेपाल प्रहरी र सबै संरक्षणकर्मीहरु, संरक्षण स्टेकहोल्डरहरु र समुदायले बुझ्न, आत्मसात् गर्न र ब्यवहारमा प्रकृति रक्षा गरेर देखाउन जरुरी छ ।
प्रकृतिको औधी माया गर्ने समुदाय र संरक्षणकर्मी हुँदाहुँदै सत्ता र सरकार कसरी प्रकृति अमैत्री अथवा प्रकृतिको दुश्मन हुन सक्दछ ? उसलाई खवरदारी र नियन्त्रण गर्ने साझा दायित्व हामी सबैको हो ।
अहिले बिश्व जलवायु परिवर्तनको प्रभावले आक्रान्त छ । तर प्रकृतिप्रतिको गाम्भीर्यता र संबेदनशीलता शून्य छ । जैबिक बिबिधताको बिश्वब्यापी ह्राश कहालीलाग्दो छ । खाद्यान्न, पिउने पानी र प्राणवायुको प्रदुषण हेर्न अन्यत्र जानुपर्दैन, आफ्नै मुलुक आक्रान्त छ । तर सत्ता र सरकार प्रकृति रक्षा गर्न होईन प्रकृति बेचेर बजेट घाटा पुर्ताल गर्न उद्यत् देखिन्छ ।
बाढी, पहिरो, दुबान, डढेलो, प्रदुषण, बिषाक्त पानी र खाद्य पदार्थ आन्तरिक सुरक्षाका प्रमुख चुनौती हुन् । भुकम्प बाहेक बाँकी सबै मानव निर्मित बिपद् हुन् । सत्तारोहण गरेको दिनदेखि ठुल्ठुला बिपद् आईजावस भनेर सरकारहरु प्रार्थना गर्दछन् । किनभने बिपद् सरकारको मागिखाने र कमाउने भाँडा हो । जस्तै हिजोको द्वन्द्व परिवर्तन, सुधार, सुशासन र स्थायी शान्ति तथा समृद्धिको लागि थिएन । त्यो रगतको मूल्यमा ठगी खाने, मागी खाने र कमाउने भाँडो थियो । जुन अहिले पुनर्पुष्टि भएकै छ । महाभुकम्प अर्बौं अर्ब कमाउने भाँडो भएको देखियो । यहाँ, सत्ता र सरकारलाई हरियो बन, शुद्ध स्वच्छ हावापानी र खाद्य सुरक्षा होईन बिपद् चाहिएको छ । तसर्थ, स्थानीय समुदायले प्रदेश खारेजीको बुलन्द माग राखेर र संघको मुख नताकेर आफ्नो प्रकृतिको रक्षा कल्याण सम्मान आफैं गर्ने हिम्मत गर्नुपर्दछ । प्रकृति स्वस्थ र धनी भए बिपद्हरु टरेर हराएर जाने छन् । विपद्को रोकथाम होईन, बिपद् आउनै नदिन प्रकृति जोगाउनुपर्दछ । बिपद्को धक्का ग्रहण गर्न र सुरक्षित रहन स्थानीय जनता प्रकृति रक्षाको आडमा आफै तयार हुनुपर्दछ ।
गृह मन्त्रालय प्रकरण बिश्वलाई अकल्पनीय र अपत्यारिलो अपराध थियो । यो बिश्वकै पहिलो आश्चर्यमा दर्ज हुने डर छ । उसैगरी आज प्रकृतिमाथि बिचौलियाहरुको धराप र बिषादी असंख्य छन् । प्रकृति बेचिखान यहाँ विचौलियाहरुको तछाड्मछाड् छ । नेतृत्व र प्रशासकले सतर्कता अपनाउनैपर्ने कुरा ।
अन्त्यमा, नेतृत्वबिहीन बन मन्त्रालयले आजको दिवसलाई चटक्क बिर्सिए पनि हामी प्रकृतिप्रेमी सारा नेपालीहरु प्रकृति संरक्षणको साझा छातामुनि एकढिक्का भई गोलबद्ध भएर यो दिवसको मूल मर्म र भावना साकार पार्न लागि परौं । बर्षातको शुरुवात संगै सयौं हजारौं लाखौं करोडौं बृक्षारोपण गरेर मातृभूमिलाई सुन्दर हरित् स्वर्ग बनाएर भावी सन्ततीलाई हस्तान्तरण गर्न दत्तचित्त रहौं । आजको दिवसलाई यही छ शुभकामना ।
जय संरक्षण ।
(लेखक संरक्षणकर्मी हुन्)
प्रतिक्रिया